
एकतमास बगिरहेको पानीमा होस् वा
पोखरीमा जमेको पानीमा
ढुंगा हान वा फूल
तर, पानीमा तरङ्ग फैलिएको हेर्ने चाहना हुन्छ मनमा भने
सोच तिमी अझै युवा हौ
बिहान उदाउने सूर्य
घुर्मैलो हो वा तेजस्वी
सूर्यको किरणको स्पर्शसँगै
तिमीभित्र नवीनताको अनुभूति हुन्छ मनमा भने
नयाँ दिनको भाव सञ्चार हुन्छ मनमा भने
मान तिमी अझै युवा हौ
युगौँदेखि चलेको चलन
बोक्दै आएको विचार
सुन्दै आएको कथा
भोग्दै आएको व्यथामा
तिमीलाई सोध्न मन हुन्छ केही थान प्रश्न
उठाउन मन हुन्छ केही सवाल भने
ठान तिमी अझै युवा हौ
तिमी विश्वास नगर
आफ्ना मुठ्ठा पर्दै गरेका पाखुरामाथि
पोटिला बन्दै गएका हातमाथि
खुल्दै गएको सौन्दर्यमाथि
समय हो
तिमीले गुमाउनेछौ ती सबै
यिनैलाई युवा हुनु नठान
युवा आवरणमा होइन, अन्तरतत्त्वमा हुने गुढी हो
भविष्यको सपना देख्छौ भने सधैँ
ती सपनाले सताइरहन्छ भने सधैँ
अनि सपना सजाउन लामो यात्रामा जाने जाँगर चल्छ भने
विश्वास गर तिमी युवा हौ
जस्तै सत्ताको पनि धार हुन्छ
सत्ताले सधैँ बलिदानको माग गर्छ
रगतको होस् वा मनको
जमेका पाइला
सुतेका मानिस
ढलेको आशा
रुझेको सपनामा
औश पनि गति दिन
रगत होस् वा मनको
बलिदान दिन हुटहुटी जाग्छ भने
तिमी युवा हौ
नदी त्यत्तिबेला मर्छ, जब ऊ बग्न छोड्छ
झरना त्यत्तिबेला मर्छ, जब ऊ झर्न छोड्छ
रुख त्यत्तिबेला मर्छ, जब उसमा नवीन पालुवा पलाउँदैन
पहाड त्यत्तिबेला खस्छ, जब ऊ ठाडो उभिन सक्दैन
बाटो त्यत्तिबेला मर्छ, जब उसको गन्तव्य सकिन्छ
एक दिन सूर्य पनि मर्नेछ जब ऊ बल्न छोड्छ
तिमीभित्र बग्ने चाहना हुँदासम्म
तिमीसँग सपना सजाउने सपना हुँदासम्म
तिमीसँग यात्रा गर्ने गन्तव्य हुँदासम्म
तिमीसँग वरपरका मानिसका मन स्पर्श गर्ने भावना हुँदासम्म
अनि तिमीसँग बद्लिएको आज हेर्ने विचार हुँदासम्म
मान तिमीभित्र युवाको बास छ
त्यो दिन तिमी मरेको मानिनेछौ
जब तिमीसँग यी केही हुनेछैन
युवा हुनु
वर्षौँ हिँडेको बाटोमा तेर्सिएको तगारो देख्नु हो
देख्नु मात्र होइन, पन्छाउनु हो
युवा हुनु
मानिसका अनुहारमा परेको चाउरीको गहिराई नाप्ने जाँगर गर्नु हो
चाउरीको गहिराईका गहिरा कथा सुनेर
चाउरीका भेद खुट्याउनु हो र
मेट्ने सपना देख्नु हो
युवा हुनु
आफू मस्त निदाएको न्यानो ओछ्यानबाट उठेर
चिसो रात
हातमा राँको बालेर
आगो नभएको बस्ती खोज्न निस्कनु हो
अनि प्रमिथसले जस्तै तापको सञ्चार गर्नु हो
युवा हुनु
मनभित्र आगोको खेती गर्नु हो
त्यो आगोको निकासा गर्नु हो र
भविष्यको आभा सञ्चय गर्नु हो
पाखुरा थाक्दा पनि
सपना देख्न नछोड्नु हो
पाखुरा र ओठ देखाएर
यौवनको व्यापार चल्ने देशमा
युवा हुन पनि सजिलो छैन
तिमीभित्रको आगोलाई जिद्दी र भावुकताको लेप लगाएर
तिमीभित्रको युवा मारेर
मरुभूमिको यात्रामा निस्कने मानिसको के यहाँ कमी छ र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

