
मरेर बाँचिरहेकाहरूको कथा
बाँचेर मरिरहेकाहरूको कथा
अनेक छन्
यस्ता-त्यस्तै, उस्तै-उस्तै अनगिन्ती
कथा बिम्बहरूको
कथा काँतरहरूको
कथा साहसीहरूको
कथा वियोग र विछोडहरूको
कथा आँशु र आँखाहरूको
कथा थोत्रिँदै गएको काया र कल्पहरूको
बोकेर थाकेको जिन्दगी नामको रङ्गमञ्च
बगरेले घिसार्दै रगताम्य बनाएको जुनीहरूको कथा
वधशालामा चौपायाको मुन्टो छिनाएर
बहादुरी देखाउने चुपी र चापटहरूको कथा
सौभाग्यको लकिर कोरेको ललाटमा
नाम्लोको डोबले
सजायको कुरुप खतहरूको कथा
तिमी कथा
म कथा
हामी सबै-सबै रंगमञ्चमा प्रदर्शनी हुँदै गरेको कथा
केही मात्रै सफल कथा
बाँकी केही असफल, केही धेरै असफल कथा
आशाको जुनकीरी बालेर
फगत पर्खाइमा बाँच्दै गरेकोहरूको कथा
पर्खाइको पर्खाल नाघ्न हतारिएर
अस्थिर चौतारीको डिलमा सुस्केरामा सुसेल्दै बसेको
मनहरूको कथा
बाको बाको जीवनी
कल्पनाको पाठशालामा भर्ना भएर
चाखलाग्दो पाठ बनेको कथा
मेरो बाले बाँचेको यथार्थ
मलाई मन पर्ने कथा
एकादेशको कथाजस्तै
हामी सबैको कथा
सौन्दर्यको कथा
सुन्दरताको कथा
धनिको कथा
गरिबको कथा
जन्म र मृत्युको कथा
साँच्चै !
जिन्दगी नै कथा
कथा नै जिन्दगीको व्यथा !
व्यथाहरू नै जिन्दगीको कथा ।
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

