हरेक बिहान
फेसबुकमै हुन्छु
हरेक दिउँसो
फेसबुकमै हुन्छु
हरेक साँझ
फेसबुकमै हुन्छु
अनि
रातको प्रथम प्रहरसम्म
फेसबुक मै हुन्छु !

जब निद्राले पिरोल्छ
अनि ओछ्यान चिच्याउँछ –
‘आऊ मलाई अंकमाल गर
धेरै बेर भयो
तिमीले मलाई छाडेर गएको…’
अझै पनि
म फेसबुकमै हुन्छु !

फेसबुक मेघदूत भएको छ हिजोआज
सन्देश बोकी ल्याउँछ मेरो देशको !

हो, मैले देश छाडेको धेरै भयो
एनआरएन भन या जे भन
मलाई जुनसुकै नाम देऊ
म यतैको रैथाने भैसकेको धेरै भयो
तर
भुल्न सकिनँ मैले देशलाई !

जब म देशमा थिएँ
यस्तै थियो मेरो देश
समस्यै समस्या

जब मुग्लान पसें
अझै
यस्तै थियो मेरो देश
भद्रगोल
लठीभद्र !

कयौँ वसन्त आए, गए
बर्खा आयो, गयो
शरदहरू पनि आए, गए
यसरी नै बद्ली रहे
ऋतुहरू
बद्लिए वर्षहरू
बद्लिए दशकहरू

तर

किन बद्लिएन मेरो देशको मुहार ?
देश उस्तै देख्छु
अझ झन् झन्
कुरुप हुँदा गएको छ मेरो देश !

देश कहिले सुध्रिएन
चिरा चिरा पर्दै गयो मेरो देश
झन् झन् भत्कँदै गयो मेरो देश

त्यति मात्र कहाँ हो र !
हिजोआज मलाई
अर्को चिन्ताले सताउन थालेको छ
मध्यरातमा ऐँठन हुन्छ मलाई

म कहाँ कहाँ पुगेको हुन्छु सपनीमा
ठाउँ त्यही हुन्छ
मेरो गाउँ त्यही हुन्छ
ती हिमाल
ती पहाड
अनि
त्यो
तराईको फाँट
त्यो मधेश
सबै त्यही हुन्छ
तर
मेरो देशको नाम फेरिइसकेको हुन्छ !