तीन छन्द कविका तीन कविता

सम्पादकः यम रेग्मी

पुनः फर्किएँ म

गणेश विषम

जताबाट आएँ उतै फर्किएँ म
बनी मेघ पानी पुनः वर्षिएँ म

थियो प्रेम गाढा छताछुल्ल स्नेह
थियौं झाङ्गिएका बनी एक देह
कताबाट आयो टुना अल्झिएछु
चरी पासामाझैँ म ता बल्झिएछु

नयाँ मोहनीका नयाँ रूप रोजी
म हिंड्दै गरेको ठुलो भाग खोजी
बन्यो व्यर्थ तृष्णा अहो ! चोट खाएँ
फिंजे जाल आफै परें छट्पटाएँ

उही वृक्ष बोक्रा हुँदो रैछ राम्रो
उही भेष भाषा बुझें अर्थ राम्रो
हराएँ कता यो गरें के गरें खै ?
यही जिन्दगी लौ बन्यो लाहुरेझैँ

बनेको छ यात्रा न तेरो न मेरो
जता छामु रित्तो न सेरो न फेरो
न नाता टुटेको न माया छुटेको
निरुद्देश्य स्वार्थी बन्यो मोह मेरो ।

बलेका थिए कामना दीप माला
थिए कल्पनाभित्र खुल्ने उज्याला
दुबै एउटा रागमा बाँधिएथ्यौँ
मुना कोपिला वृक्ष शोभा बनेथ्यौँ ।

शाश्वत बाधा

नारायण नेपाल

छन्दः पञ्चचामर

हुँदैन तृप्ति के गरोस् असारबाट भूमिको
व्यथा अतृप्तिको बढे हुँदैन झट्ट त्यो निको
वियोग जन्म जन्मको पिएर बूँद एउटा
कहाँ रसाउला गला, कहाँ हँसाउला कला ।

अनन्त भेट्न एउटा सिँढी चढेर पुग्छ र ?
विशाल बुझ्न बाहिरी पिँढी पढेर पुग्छ र ?
छ जित्नु हार शृङ्खला स्वयं लडेर पुग्छ र ?
छ खातखात दोषको दुई डढेर पुग्छ र ?

थपिन्छ एक औषधी अनेक रोग बढ्दछन्
जपिन्छ नाम एउटा अनेक याद चढ्दछन्
सिकाउँछन् सुधीहरू हजार योगका विधि
परन्त वादवादका नयाँ प्रमाद लड्दछन् ।

 

सद्भावना

भावना न्यौपाने ‘भवानी’

सद्भाव राखी विमला रिजाऔँ
संज्ञानले बुद्धि विवेक पाऊँ
साहित्य वर्षा जगमा जगाऔँ
सद्भावनाले कविता बनाऔँ ।

साझा धरामा रचना रुचाऔँ
संसारमा सात्विकता सजाऔँ
सेवा गरी जीवनमा उदाऔँ ।
सद्भावनाले जनिता मनाऔँ ।

सच्चा बनी मानवता चिनाऔँ
साथीहरूमा ममता मिसाऔँ
सत्कर्ममा ध्यान पवित्र लाऔँ
सद्भावनाका प्रिय गीत गाऔँ

सन्ध्या गरी नैतिकता अठाऔँ
सन्मार्ग उम्दा गतिला समाऔँ
सद्धर्ममा भाव गुणी लगाऔँ
सद्भावनाले प्रियता फलाऔँ ।

सिद्धान्तका चारु कला चढाऔँ
सुर्ता र चिन्ता जगमा हटाऔँ
सौम्या सुशीला क्षितिमा बढाऔँ
प्रज्ञा प्रमोदी मुटुमा मिलाऔँ ।