जो जे हो, त्यो त्यस्तो छैन
वास्तवमा ऊ आफैँजस्तो रहेन
नेता चोरजस्ता
कर्मचारी घुस्याहाजस्ता
व्यापारी ठगजस्ता
शिक्षक नेताजस्ता
विद्यार्थी सुँगाजस्ता
जनता जुकाजस्ता
ठेकेदार गुण्डाजस्ता
विश्वास शून्यजस्तो
भरोसा अलमलजस्तो
खोइ कस्तो कस्तो ??
देश अस्तव्यस्त

विश्वास खुइलिएको छ
भरोसा डगमगाएको छ
उसले तँ चोर भन्छ
अर्कोले म हैन, तँ चोर भन्छ
उस्ले उस्लाई
उस्ले उस्लाई
औँला ठड्याउँछन्
र म गए, तँ रहन्नस्
खासखुस हुन्छ
र काण्ड ढिसमिस हुन्छ

जे गर्न भनिएको छ
जसरी गर्न भनिएको छ
त्यो, त्यसरी गर्दैनन् तिनीहरू
नेताले भाषण गर्छ, काम गर्दैन
कर्मचारीले कागजपत्र मिलाउँछन् काम मिलाउँदैनन्
शिक्षकले राजनीति ज्यादा गर्छन्
फेसबुकमा जनता ज्यादा पढाउँछन्
विद्यार्थी कम पढाउँछन्
विद्यार्थी बा‑आमाका करले पढ्छन्
अझ धेरै त जान्नका लागि हैन
जानका लागि पढ्छन्
देशै छोडेर
जनता जुकाजस्ता छन्
अवसरबाहेक केही खोज्दैनन्
ठेकेदार ठगका मालिक
आधा गुणस्तर हुँदैन कामको

कठै मेरो देश !

सबै विश्लेषक
सबै जान्ने
नाम कहलिएको महाठग
उपदेश दिँदै भन्छ
यस्तै हो राजनीति
राजनीतिमा कूटनीति
जालझेल र कपट
भैहाल्छ नि !

यता हेर्यो उस्तै
उता हेर्यो त्यस्तै
स्वार्थका चुम्बकहरू
आँ होइन
हाँ गरेका छन्
तिनै आदर्शवादी छन्
तिनै समाजवादी छन्
तिनै क्रान्तिकारी छन्
तिनै साम्यवादी छन्
धमिराहरू देश खोक्र्याइरहेका छन्
कठै मेरो देश !