
मायालु !
कहिलेकाहीँ सोच्छु
तिमीजस्तै व्यस्त भैदिऊँ
सायद यति धेरै मिस गर्ने थिइनँ होला
केमा व्यस्त हुनु ?
आफैँभन्दा माथि के नै छ र ?
साँघुरै छन्, यी कायाका सीमा
आफैँलाई छाडी
त्यो आत्मा मारी
खै केमा छौ व्यस्त
आँखा चिम्ली हेर
तिमीले कमाएका
नाता, सम्बन्ध, पद, प्रतिष्ठा
हराउँछन्, सकिन्छन्
कुनै एक दिन, सधैँका लागि
यसरी नै हराउने छौ
इमानदार भई सोध्नू आफैँसँग
बाँकी रहने के छ ?
उम्रिए, बढे, ठडिए, सकिए
के मानव चोला यत्ति नै होला ?
कति खेल्छौ ढुङ्गा र माटो
भन्छन्
मान्छेको जिउ, बुद्धको बिउ
करुणा र प्रेम अनन्त मिरा
चिन्नै पर्छ पोल्टाका हिरा
मनको तृष्णा आत्माको कृष्णा
रोज्ने के ? खोज्ने के ?
आऊ तिमी र म
प्रेममा परौँ
बसौँ आफैँसँग
कमाऔँ त्यो, जो शून्य हुन्न
जाऔँ त्यहाँ, जहाँ आश छैन
आऊ तिमी र म
प्रेममा परौँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
