युद्ध पिपासुहरू स्कुल छिरेपछि…

विद्यालय
दलिनमा बन्दुक घुसारेर
मझेरीमा बारूद गाडेर
नानीहरूलाई अँगालो फैलाउँदैछ

नयाँ पुस्तकको पान्नाहरूबाट
कक्षाभरि फैलिएको छ
ताजा बारूदको गन्ध

चकका अक्षरहरू
मधुरो भएर हो कि ?
बेञ्चमुनि लुकेका त्रस्त अबोध आँखाहरू
पढ्दैछन्
बन्दुकको गोलीले
कालोपाटीमा लेखिएका, खोपिल्टे काला अक्षरहरू

गढेका छन् कलिला आँखामा
प्रश्नपत्रका अनुत्तरित प्रश्नहरू-
विद्यालयको पर्खाल नाघ्दै
बन्दुक बोकेर
झ्याल पछाडिबाट
शिक्षकको काँधछेको, त्यो चिहाउने को हो ?

कस्ले राखिदियो
टिफिनभित्र ग्रिनेड ?

हैन कस्ले राखिदियो
गुरूको लाशमाथि टाटेपाटे कम्ब्याट कपडा ?

के बन्दुकको भरिया बनाइयो
त्यो पढ्दापढ्दै स्कुलबाटै अपहरित केटोलाई ?

वैश्य-व्यापार
पसलेहरू
किताबको पान्नामा पोको पारेर
बेच्दैछन् कार्तुस !

छोरालाई के जवाफ दिउँ म
कस्ले पो बनाउँछ यो बन्दुक ?

बुद्ध त मरिसके
विद्यालय बनेको छ
युद्धग्रस्त किल्लाको भग्नावशेष
सोच्छु-
छोरालाई स्कुल पठाउँ कि नाइँ ?
कलिला दिमागहरू युद्धकोष पढ्दैछन्
आखिर के पढाउँदैछ विद्यालय ?

उस्तै गोलीबाट उम्केका
मलाला र थुप्रै अरूहरू
विश्मय हुन सक्छ तिमीहरूलाई
सुन्नुछ अरू कैयन
बम र बारुदको आवाजमा बिलाइरहेको
विद्यार्थीहरूको बिहानी कवाज
देख्नुछ
परेड पछिको मुर्दा मौनाता

र समाचारमा छरिएका
कलिला फूलका लाशहरू

डस्टरले पुछ्दैमा मेटीने हैन
इतिहासको भुईंबाट
आलो रगतका राता टाटाहरू
कक्षाकोठामा पोतिएका ।

 

शंखादेवी, काठमाडौँ