कथा-१

उम्रिएको पानीबाट बनेको
कहिल्यै नसुक्ने
एउटा पोखरी थियो त्यहाँ

एउटा सानो गाउँकै निम्ति
मुख्य जलस्रोत थियो त्यो
सिथि नख:को दिन
नेवा: हातहरूको सरसफाइपछि
ऐनाजस्तो देखिन्थ्यो त्यहाँको पानी

कालान्तरमा
ठेकेदार भीमेले बिल्डिङ बनाएदेखि यता
लश्कर नै लाग्यो होम स्टेहरूको
त्यही जलस्रोतको टाउकोमा

कहिल्यै नसुक्ने पोखरी
बिस्तारै सुकेर
अचेल
सम्झनामा मात्र बाँचेको छ
एउटा दन्त्यकथा बनेर

अचेल
त्यहाँ पानी उम्रदैन
होम स्टेका झ्यालहरूबाट फ्याँकिएका
दुर्गन्धित कन्डोमहरू थुप्रिन्छन्
मैला रगत चुसुवा
सेनेटरी नेप्किनहरू उत्तानो पर्छन् ।

कथा-२

हिजोअस्ति जस्तो लाग्छ
पोखरीमा
शीतलताले आफूलाई भिजाउन
जङ्गली हाँसहरू रमाउँदै खेलेका
आफ्ना नयाँ घर बनाउन
पोखरीमा झर्दै गरेका पातहरू
रङ्गीचङ्गी चरीहरूले टिपेर रुखमै लगेका

तिर्खा पनि मेटाएकै हो नि बेस्सरी
पोखरीले तृषितहरूकै
अचेल त बिस्लेरी बोतलहरू हुन्छन्
तृषितहरूकै हात-हातमा
परिकथा भएछ पोखरीको कथा पनि
डिजिटल चमकदमकले
विस्मृतिमा परेर

अचेल त त्यहाँ
कालो पोलिथिन ब्यागहरूको अँध्यारोमा गुम्सिएर
दङदङ गन्हाइबस्छ
सभ्य मान्छेको असभ्यता !

 

कथा-३

अतिक्रमित भएर
पोखरीको ठाउँ
पोखरीको गाउँ
पोखरीको शान
प्रकृति पुजिने थान
विकासिएर रुपियाँको खेल
एउटा पर्यटनस्थल नै बनेछ
हिजोआज त्यहाँ
नचिनेको पर्यटक ङिच्च हास्छ
पुरानो साथीजस्तो
नयाँ छिमेकी भएर
अहो!
गद् गद् हुन्छन्
साइँली र अन्तरीहरू
आलुदम, मोमो र चिया बेचेर
बेकारी जितेन र सतीशहरू पनि गजक्क हुन्छन्
बाउको पेन्सनको पैसाले
क्याफेटेरिया खोलेर
नयाँ छिमेकीलाई
महिना महिना
घरभाडा तिरेर ।

*****
डाउहिल,खरसाङ
*****

टिप्पणी: सिथि नख: षष्ठी पर्व(नेवार जातिले जेष्ठ शुक्ल पक्षको छैटौँ दिनमा मनाउने पर्व) जुन दिन पानीका मुहानहरू सफा गरिन्छ । प्रकृति पुजिने यस पर्वको नेवा: संस्कृतिमा विशेष महत्त्व छ ।