
वीर बलभद्रलाई रणजित सिंहको सेनामा बेचेर खोलिएको हो,
‘नागरिक बेच्ने पसल’ !
एकLकरणको नाममा
टिस्टापारि नै बेचेर आएका हौँ केही थान नागरिक
सन्धिका नाममा
मेचीपारि नै बेचेका हौँ केही थान
वीरताको गाथा गाउन विरहका गीतसँग
विश्वयुद्धमा बेचेका हौँ केही थान
लाहुरे बनाएर बेचेका हौँ केही थान
धेरैपछि
ढले नागरिक बेच्ने राणा र राजा नाउँका भुँडे साहुजीहरू
ढलेन नागरिक व्यापार !
एक दिन प्रजातन्त्रको सुनौलो बिहानी झुल्कदै थियो
त्यही बिहानी भुँडे साहुजीका थुप्रै उतराधिकारीहरू पनि जन्मिए
कोख फेरेर
हो, तिनै उत्तराधिकारी भुँडे साहुजी हौँ हामी
साहुजी मात्रै हैन, व्यापार पनि विस्तार भएको छ, हेर्नुहोस् त !
के लिनुहुन्छ, के दिउँ ?
नागरिक कि नागरिकता??
नागरिक व्यापारले मात्र गाह्रो भयो हजुर
हेर्नुहोस् त, शताब्दी लामो जनगणना सधैँ ऋणात्मक
बेरोजगारीका नाउँमा
परिवर्तनका नाउँमा
राजनीतिका नाउँमा
अनेक बहानामा हामी बेचिरहन्छौँ नागरिक र नागरिकता
०७ साल र ०४६ सालको परिवर्तनले नागरिकता बहुत बिक्यो
०६३ पछि त नागरिक र नागरिकताको माग धान्नै गाह्रो छ
सदाबहार बिक्री हुन्छ
कहिले बेरोजगारीका नाउँमा
कहिले शिक्षाका नाउँमा
कहिले शरणार्थीका नाउँमा
बहाना भए हुन्छ हाम्रो व्यापार सदाबहार चलिरहन्छ
बरु भन्नुहोस्, के दिऊँ तपाईंलाई
नागरिक कि नागरिकता ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

