
हो मैले एक नजर हेरेकै हो
तिम्ले पनि हेरी हाल्छौ कि भनेर
खोकेजस्तो गरेकै हो
मेरो बोली जति नराम्रो सुनिए पनि
तिम्रासामु मीठो बोली बोलेकै हो
तिर्खा नलागे पनि क्लासमा
निहुँ पारी तिमीसँग पानि मागेकै हो
हो, मेरो एकलौटी माया तिमीसँग बसेकै हो
तिमी मसँग कहिलै नबोले पनि
मैले त मेरा आँखाले बोलाकै हो
तिमीलाई मेरो नाम नै थाह नभए पनि
मैले दिन रात तिम्रो नाम जपेकै हो
तिमी घाम थियौ म जुन
कहिल्यै हाम्रो भेट नभए पनि
तिम्रै प्रकाशले म चम्केकै हो
हो, मेरो एकलौटी माया तिमीसँग बसेकै हो
तिमीलाई आफूसँग यथार्थमा देख्न नपाए पनि
हरेक राति सपनीमा देखेकै हो
तिम्रो अँगालोलाई वास्तविक स्पर्श गर्न नपाए पनि
सिरानीमा तिम्रो साथ अनुभूत गरेकै हो
झरी पर्दा पानीका थोपा थोपा तिमीलाई सम्झेकै हो
तिम्रो निश्चल माया र साथको आश गरेकै हो
हो, मेरो एकलौटी माया तिमीसँग बसेकै हो
तिमी सुन्दर फूल भए
म भमरा बन्न चाहेकै हो
तिमी मीठो तातो चिया भए
म डुबी जाने बिस्कुट बन्न चाहेकै हो
तिमी बगिरहने खोला भए
म माछा बन्न चाहेकै हो
म तिमीसँगै बग्न तिमीभित्र रम्न चाहन्थेँ
तर म त थाहै नपाई किनारमा छोडिएछु
यथार्थलाई बिर्सिएर कल्पनामा हराएछु
त्यो मायाको कुवामा भ्यागुता हुन पुगेछु
हो एकलौटी मायामा हराउन पुगेछु ।
शुक्लागण्डकी ४, तनहुँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

