आउनु होस् !
आउनु होस् !
आउनु होस् !
खुशी बिक्रीमा छ
यो सुनौलो अवसर हो
खुशी किन्ने यस्तो अवसर
बिरलै पाइन्छ
नछुटाउनुहोस्
पछुताउनु पर्ला
धेरै सोच्ने मानिसहरू कोही
खुशी देख्नु भएको छ ?
सोच्नु समय बर्बाद गर्नु हो
किन्नु समयसँगै हिँड्नु हो
खास खुशी किन्नमा छ
देखाउनमा छ
हेर्नुस् त, ती सामाजिक सञ्जालमा
नयाँ नयाँ सामान किनेर
फोटा खिचाएर
देखाउने मानिसहरू
कति खुशी देखिन्छन्
तिनको ओठको हाँसो देखेर
तुजुक र तडकभडक देखेर
तपाईंलाई डाह लाग्दैन ?
त्यसैले किन्नुस्
आउनु होस् !
आउनु होस् !
आउनु होस् !
दुइटा किने एक सित्तैमा
पचासको तीनवटा, सयको सात वटा
आज किन्नुस् एक वर्षमा तिर्नुस्
महिनाको २० तिरे पुग्छ
बगेको खोला फर्कंदैन
यस्तो मौका फेरि आउँदैन
आजै किनी हाल्नुहोस्
धेरै नसोच्नुहोस्
सोचेर खुशी पाइँदैन
किनी हाल्नुस्
ल्यापटप, जुत्ता, आई फोन, आई प्याड, इयर बड, एपल वाच, गुची ब्याग,
तपाईंको समय सकिन लाग्यो
हतार गर्नुहोस्
भोलिदेखि तपाईंसँग समय हुने छैन
त्यसैले आजै किनिहाल्नुस्
आउनु होस् !
आउनु होस् !
आउनु होस् !
खुशी सहुलियत मुल्यमा बिक्रीमा छ
आजै किनिहाल्नुस् ।