भैलो खेल्ने भैली आउँछन् दुई चार पैसा मागन
हाम्रो घरको पिँढी छेउको ठूलो आँगन
भजन कीर्तन गाउँछौँ यहीँ रमाउँछौँ हाँस्छौँ
आँगनीमा जम्मा भई सँगै हामी नाच्छौँ
टाढैबाट आमा बाबा आउनु भा’को देखी
आँगनीमै बस्छौँ हामी बाटो छेकी छेकी
भारी पोको बिसाउने फराकिलो ठाउँ
के के रै’छन् हेरौँ साथी हिँड त्यतै जाऊँ
ट्वाक्क पारी निबुवा र नुन खुर्सानी साँधी
यहीँ बसी खान्छौँ हामी दिदीसँग मागी
कपर्दी र डन्डीबियो खेल्न यहीँ जाती
ढ्याक खेलौँ उफ्री उफ्री आऊ सँगी साथी
चुम्मी खेलौँ, गट्टा खेलौँ साथी-साथी भई
इन्चु-पिन्चु गाउँदै खेलौँ सँगैसँगै रही
स्यान्दिदीले आँगनीमा मान्द्रो फुकाउँछिन्
ठूल्दिदीले धानको बिस्कुन यसमै सुकाउँछिन्
घुमाई घुमाई धान्को बिटो राख्न कुनियो रे
भन्नुहुन्छ बाले यहीँ राखे हुनी हो रे
मास भट्ट ठटाउँछन् धान झाँट्छन् यहीँ
उस्तै पर्दा तान बनाई गुन्द्री बाट्छन् यहीँ
दसैँ आउँदा आँगनीमै पिङ खेलेर रमाइन्छ
चाडपर्वमा टीका लाइन्छ पैसा कमाइन्छ
बढारकुढार गर्छौँ सधैँ सफा सुग्घर पार्छौँ
आँगनीकै डिलमा हामी राम्रा फूल सार्छौँ
गुन्द्री ओच्छ्याई जाडो मासमा घाम यहीँ ताप्छौँ
पढ्न लेख्न साथीलाई आँगनीमै डाक्छौँ
गाउँमै घर भए’नि बालाई सुख भ’को छ
धन्न आँगन छ र पो ढुक्क भ’को छ ।
भोर्लेटार, लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।