मन मस्तिष्क खियाउँदा खियाउँदा
मुटु असह्य दुःख्छ
मान्छे छरपस्ट सडकमा सुतिरहेका
मन्दिरको द्वारमा पलेँटी कस्दै माग्दैछन्‌
रातबिरात सडकपेटीमा सुत्छन्‌
बुढापाका बालबालिका बाँच्ने अधिकार खोज्छन्‌
सेवक भनिने रमिते पात्रसँग
दयामाया माग्दै याचक भएका छन्‌
बहाना हो वा विवशताले असहाय छन्‌
यहाँ के भइरहेको छ बुझ्न गाह्रो छ
किसानले आत्महत्या गर्छन्‌
ऋणिक आत्मदाह गर्छन्‌
शासकहरू उहिलेदेखि लोकतन्त्रको गवाही दिन्छन्‌
मानवाधिकारको भाषणमा सुनिश्चित पस्किन्छन्‌
गास, बास, कपास गारेन्टी छ भन्दै
नेपालको संविधान पल्टाउँदै धारा देखाउँछन्‌
निरस धाराहरू कति हेर्नु र सुन्नु
र, मनमुटु झन्झन् दुःख्छ टुट्छ
ऊ पर भित्तामा
निर्वाचनताक लेखिएका नारा ताजै छन्‌
निर्वाचन सकिएर पनि टल्केको छन्‌
जय जवान, जय किसान
समृद्ध नेपाल, सुखी नेपाली
आधा रोटी खाउँला…
त्यहीँ नारा दुःख्छ पिड्छ दुर्व्यवहारी हुन्छ
पीडाबोधको कारक बनेको छ
मत फिर्ता नहुने भएर हो
पछुताउनुबाहेक विकल्प छैन
मतदानपेटी खित्का छाडेर हाँस्छ
अंकगणितले जोडजाड सरकार
घोटालाको शृङ्खलामा उनिएको छ
उपेक्षित जनभावना छताछुल्ल पोखिएका छन्‌
असहाय छन् उता गाउँका मान्छेहरू
उज्यालो भनिएको संविधान
लोडसेडिङ कालझैँ अँध्यारिएको छ
कोही कोही गाँस खोज्न अदालत धाउँछन्‌
पढ्न, लेख्न, सुत्न आदिका लागि दगुर्छन्‌
विविधखाले विभेदले स्वाभीमान डगेको छ
कहिलेकाहीँ शंका लाग्छ
अनाडीहरूले बनाएको संविधान
अन्धो, अपाङ्ग, खट्टोपिरो हुनु थियो, छ
उता न्याय दिनेको आँखामा पट्टि बाँधिएको छ
ऊ पटक्कै देख्दैन
चरचर्‌याइरहेको घाउ कसलाई देखाउनु
ऐय्या गरेको शब्द सुन्छ पीडा बुझ्दैन
सायद ऊ पनि बहानाबाज हो जस्तो
वकिल लगाएको टेको छाम्न सक्दैन
पट्टीवाल आफैँ थाकेको छ हैरान छ
बर्खे भेलले दिशाविहीन छ ।