किशन दाहाल

तिमीहरू पदार्थवादी
सान्त्वनाको भोगी
गल्तीले शरणमा सुझाव राखेझैँ…
निचोडमा अलमल्ल अभ्यन्तरमै अलपत्र

अनि म…
बौलाहा
भालुलाई पुराण
सुनाइरहेको

म थाक्नु हुँदैन
म रोकिनु हुँदैन
तिमीहरूलाई मजस्तो
बनाउनुभन्दा
म तिमी भित्रको
तिमी खोज्न सिकाउँछु

जुगको पकाई
अनि त्रुटिको अनुभवले
अकाट्य बनेको त्यो चोला

कालोलाई कालो
अनि
सेतोलाई सेतो
जब देखिन्छ
पत्याउनु हैन नि
नयन पनि धोखा खान्छ आजकल
कृत्रिम बुद्धिको जमाना हो हजुर

दिमागले सोचेको कुरा
सबै कर्म योग्य हुँदैनन्
आत्मालाई सोधी हेर्नु
एक पटक

मापदण्डमा फँसेका
बुख्याँचा झैँ
गुलामका सुझावमा
निर्धक्क भै
होसियार रहनू

अनि यो बौलाहाको कविता सम्झनू…
आफैँलाई सज्जनहरूबीच राखेर ।

सिक्किम, भारत