
घाँस रोपेर खेतमा
धान कहाँ उमार्न सकिन्छ ?
बकवास रोपेर दिमागमा
विचार कहाँ उमार्न सकिन्छ ?
म किसानको छोरो
समाउँदिनँ हलो, कोदालो
समाउँदिनँ हँसिया, खुर्पा
समाउँछु केवल कलम
मेरो कलमले
– घाँस काट्दैन
– दाउरा चिर्दैन
– कुलो खन्दैन
– खेत जोत्दैन,
काट्छ त केवल
– कुविचाका जरा
– विसङ्गतिका फेद
– विचारका हाँगाबिँगा
म कथित बुद्धिजीवी
मेरो सामु
एउटा अहम् प्रश्न छ
“बुद्धिले कति बाँचेँ म ?”
बस् यत्ति हो
बोली बेचेर बाँचिरहेको छु
मानव मष्तिस्करूपी
कलिला खेतहरूमा
विचारका बिउहरू छरिरहेछु
हेर्नु छ
ती बिउबाट
कहिले विचारका विरुवा उम्रन्छन् ?
तिनले कहिले विचारका फल दिन्छन् ?
बाल मष्तिस्कमा
विचार रोपेको भ्रममा
बाँचेको छु म अहिलेसम्म
साँच्चै विचार रोपेँ कि रोपिनँ ?
परीक्षण हुन बाँकी नै छ
मैले उनीहरूलाई
आफूले लिएको परीक्षामा उत्तीर्ण त गराएँ
मैले उत्तीर्ण गराएको परीक्षाको
सही परीक्षण जीवनले गर्ला नगर्ला
त्यो हेर्न बाँकी नै छ
साँच्चै
बकबास रोपेर दिमागमा
विचार कहाँ उमार्न सकिन्छ ?
घाँस रोपेर खेतमा
धान कहाँ उमार्न सकिन्छ ?
चितवन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

