जब हामीले
नमस्कार गरिरहेका थियौं
कमरेड आएर
लालसलाम गर्न सिकाएर गए ।
जब हामीले
लालसलाम गरिरहेका थियौं
कमरेड मन्त्री !
हामीतिर मुन्टो बङग्याएर
नमस्कार गर्नेको लर्कोतिर
हात खप्ट्याएर अभिवादन फर्काइरहेका थिए ।

मन्त्रालयमा नचल्ने
मन्त्री क्वाटरमा नचल्ने
त्यो तिमीले सिकाएको लालसलाम
पार्टी कार्यालयमा
आमसभामा
भोट माग्न घरदैलोमा
किन चलाउँछौ कमरेड !
लालसलाम
सर्वहारालाई गिज्याउन
उज्याईएको मुठी हो ?
लालसलाम
गरीब, दुखीलाई तर्साउने
पहलमानको बक्सिङ हो ?
लालसलाम
जनताको शासनलाई कैद गर्ने
निरंकुश मुठी हो ?