

खै ! कहाँनेर चुँडियो मानवताको डोरी ?
तिम्रो आँखामा देख्दिँन म
त्यही प्रेमको फूल
जुन वर्षौँ पहिले फुलेको थियो ।
तिम्रो हातमा पाउँदिनँ म
त्यही न्यानोपन
जुन मेरै रक्षाका लागि खटिन्थे ।
अनि सुन्दिनँ म तिम्रो आवाजमा
त्यही शब्द
जसले प्रेमको भाव बोकेर आउँथे ।
ए ! मानिस कति निरीह भयौ तिमी
त्यही ढुङ्गाको मूर्तिजस्तै
जो सुन्दैन
अनाथको पुकार र नारीको चित्कार ।
ऊ त नसुनेर बोल्दैन
अनि तिमी
सुनेर पनि बोल्दैनौ
र बुझेर पनि बुझ्दैनौ
एउटी आमाको खोसिएको सिन्दुरको भाव
एउटी नारीको अस्मितामाथिको दाग
अनि एउटी नाबालिकाको अधिकार ।
ईश्वरले त तिमीलाई सबै गुण दिएथे
ता कि तिम्रा आँखाले न्याय गरुन्
तिम्रा ओठ सत्यका लागि बोलुन्
अनि तिम्रा हात रक्षाका लागि लडुन् ।
तर आज,
त्यही सुन्दर देख्ने आँखाले सबै उजाड पारिदिए
ती ओठ सत्य बोल्न डगमगाए
अनि तिम्रा हात कुबाटो तिर सल्बलाए ।
खै ! कहाँनेर चुँडियो मानवताको डोरी ?



