छन्द: अनुष्टुप्
कालोपाटी समाएर गर्छ सिद्धान्तका कुरा
खाडी लाग छिटो भन्दै उचाल्दै छ सबै भुरा ।
चिथोर्छ सपना जम्मै मान्छे भैदिन्छ काँतर
रेमिटेन्स थुपारेर राज गर्दछ बाँदर ।।१।।
हान्छ झापड सोझामा महङ्गीले सताँउछ
गर्छ भेला सधैँ चेला आफ्नै अस्तित्व गाँउछ ।
आफ्नो काम कहाँ गर्थे पाल्छन् नोकरचाकर
मेरो संसार हो भन्दै राजगर्दछ बाँदर ।।२।।
मुकुण्डो भिर्छ अर्कैको दुवै हात फिजाँउछ
विदेशी दक्षिणा माग्दै मुन्टो आफ्नो झुकाउँछ ।
स्वाभिमान लतारेर आगो झोस्छ स्वयं घर
सपनाको कुवा खन्दै राज गर्दछ बाँदर ।।३।।
गर्दै खलकको भेला एक्लो ऊ बन्छ नायक
रामको नाम जोडेर चोर्छ जे हुन्छ पायक।
यही बाँदरले गर्दा भताभुङ्ग भयो घर
आफै मन्त्री सिपाही भै राज गर्द छ बाँदर ।।४।।
खैरे लङ्गुरको नीति आँखा चिम्लेर पास भो
अर्कैले सुन्दरी लग्दा ढेडुको उठिबास भो ।
यस्ता बाँदरका होलान् ओखती खै कता तिर
नेता झैँ सानले आज राज गर्द छ बाँदर ।।५।।
हेटौंडा, मकवानपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।