भगवान् !
तिम्रै आँखाअगाडि पुजारीले
बहिनीको चरित्र हत्या गरिदिँदा ।
तिम्रै चर्च छेउमा
नाङ्गो शरिरमा धर्म ग्रन्थका ठेलीहरू लेखेर
सानो लुगा च्यातेर शासकहरूले मुख पुछ्ने रुमाल बनाउँदा ।
मस्जिदमा गएर
प्रदेशिको दुवा माग्दा
तिम्रो आकाशवाणी सुनेर
घर पुग्ने हतारमा
प्राण उतै बिर्सेर पति फर्किँदा ।
मलाई लाग्यो
तिमी आँखा नदेख्ने छौ ।
कान नसुन्ने छौ ।
तर अफसोच् !
शताब्दीऔँ अघि
सतीघाटमा सतीको चिच्च्याहट सुन्न नसकेर
तिमी त पृथ्वीबाटै अन्तरध्यान भइसकेका रहेछौ ।
अचेल !
हात थामिदिने बुवा
पैतालामुनि हत्केला राखिदिने आमा
र आमाबुबा नै भगवान् हुन् भनेर सिकाएका गुरुलाई
भगवान् मान्दै आएको छु ।
मलाई माफ गरिदिनू
एउटा चिल्लो ढुङ्गामा फूल चढाएर
मैले तिम्रो पूजा गर्न सकिनँ ।