हिजो आज बिरालाहरू दूध चोर्न छाडेका छन्
मुसा मार्ने वंशानुगत परम्परालाई त्यागेर
बासी मासुमा मुख गाडेर
धर्म त्याग्दै गएका छन्
थरिथरिका बिरालाहरू समाजमा
भाँडभैलो मच्चाउँदै द्रव्यपिशाच भएर
यो देशमा खुट्टा घुमाई रहेका छन्
कुकुरहरू बिरालालाई लखेट्न छाडेर
दोस्तीमा रमाउन थालेका छन्
र घरको सुरक्षा गर्ने वंशानुगत कार्यलाई त्यागेर
स्याल हुँइयामा रमाउँदै दूधको साक्षी बनिरहेका छन्
त्यसैले हिजोआज सडकमा कोलाहल मच्चिएको छ
मुसाहरू घरमा, खेतबारीमा प्वाल पार्न छाडेर
सिंहमहलतिर सरेका छन्
सिंहमहल छिद्रैछिद्रमा ठडिएको छ
कुन दिन गर्ल्याम्म ढल्छ र उतानो टाङ लाएर
छिमेकीहरूसँग रुन्चे अनुहारमा जम्ला हात गर्दै
सहयोगको याचना गर्छ
गाउँ पसेर कुखुरा चोर्न थालेपछि स्यालहरू
जङ्गलतिर कुलेलम ठोक्छन् र झाडीतिर पस्छन्
भनिन्छ, स्याल गाउँ पस्यो भने दशा लाग्छ रे
बञ्जाराको जालमा पर्छ र जीवनको बुझ्ने गरी पढ्छ
अहिले केही बिराला, मुसा, कुकुर र स्यालहरू
बञ्जाराको कब्जामा परेर निम्छरो भएका छन्
केही मुसा र स्यालहरू प्वाल र ओडारतिर
सिंह, बाघ र चितुवाको झम्टाईबाट जोगिन
बञ्जाराको जालमा नफस्न सिंहमहलकै इशारामा
छाता ओढेर बसिरहेका छन् ।
गाईघाट, उदयपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।