बाबु
सक्छौ भने बिर्सिदिनू
घर छोड्ने अघिल्लो रातलाई
अनि फूलको थुङ्गोझैँ स्वच्छ
र सिमलको भुवाझै हलुङ्गो मन लिएर
हिँड्नु तिमी त्यस्तै हलुङ्गो तन लिएर
सक्दैनौ यदि भने
औँशीले भरिएको मनबाट बग्न दिनू
जिन्दगीको चर्को अमिलोधमिलोलाई
अनि पखाल्दै जानू आँसुले
दुःख, पीडालाई
र, उड्नु तिमी कल्पनाका पखेटा हालेर
स्वप्नील आकाशमा !
चाहन्छु−
तिम्रो आँशुले भिजेको यो माटोमा
फक्रिऊन् सपनाका फूलहरू तिम्रै
खल्खली बगेको तिम्रो पसिनामा
मुस्कुराऊन् मुटुका चल्लाहरू तिम्रै
तिमी हिँड्ने यो बाटो
तिमीलाई छुने यो हावा
यी सुन्दर प्राकृतिक दृश्यमा
छोडेर जानू अलिकता सम्झना
लिएर जानू अलिकति सम्झना
हिमाली शितल पवन
गुराँसको रङ्गीन मन
अनि बुद्धका अर्द्धमुदित नयन सम्झिएर
गर्नु है बाबु तिमीले आफ्नो काम
कसैगरे पनि नबिगार्नु है आफ्नो नाम
म त आखिर डाँडामाथिको घाम
के नै भर छ र मेरो !
गर्मीले आत्तिएर
छिटोछिटो घस्रिदै गरेको झुसिलकिरो झैँ
विदेशको कोकुनमा पुगेपछि
पखेटा हाली पुतली बनेर
उड्दैउड्दै घर फर्किंदा तिमी
हुनसक्छ−अस्ताइसकेको हुनेछु म
फक्रिएको तिम्रो सपनाको मुस्कानमा
रङ अनि सुवासमा उज्यालिएर
मुस्कुराउन यदि रहिनँ भने
हेर्नू है बाबु—
राती सुनसान आकाशमा
टिल्पिलटिल्पिल तारामा मलाई
अनि नभुल्नू है गन्न
मैले तिमीलाई जन्माउँदा हुर्काउँदा बिताएका
पीडादायी, निर्दयी ती दिनहरूलाई
मातृत्व र जन्मभूमिका ऋणहरूलाई
खस्नेछु बिहानीमा जब शीत बनेर
तब हेर्नू—गुलाफमा टल्केका शीतका थोपामा मलाई
अनि छाम्नू आफ्नै हृदयको धड्कनमा मलाई
साँझमा हेर्नू—
तिम्रो सुख, खुसी र आनन्द देखेर
शितल आनन्दको उज्यालोले फक्रिएको पूर्णिमाको चन्द्रमालाई
अनि सम्झनू−तिनै हुन् मेरी आमा खुसी हुने मलाई देखेर
एक्लैएक्लै एकान्तमा रुने मलाई सम्झेर !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।