म एउटा निर्दोष
तपाईँजस्तै जीव हुँ
फरक यत्ति छ कि
हजुर घस्रनु हुन्छ
अनि म उफ्रन्छु !

हामीमा अलिक फरक छ
किनकि तपाईं मलाई
सिङ्गै खानु हुन्छ
तर
म कसैलाई पनि खान सक्दिनँ
तर बिन्ती छ, मेरा बच्चा रुन्छन्
तपाईंले आक्रमण गर्दा
म र मेरा परिवारहरू
कति बाँच्ने कोसिस गर्छौं
तपाईं छक्याई छक्याई आक्रमण गर्नुहुन्छ
तर हाम्रो पनि त परिवार छ नि !

तपाईं दुलोभित्र बस्दा
म बाहिरबाट कहिले चिहाउँदिन नि
तर तपाई म कहाँ छु
भनेर चिहाई चिहाई हेर्नु हुन्छ
तपाईंका पनि त बच्चा होलान् नि
के फरक छ र ?
तपाईँका बच्चाकी आमा खोसिनु
र मेरा बच्चाको आमा खोसिनुमा ?

तपाईँ सारा जीवको
सिकार गर्दै आफ्नो पेट भर्नु हुन्छ
उनीहरूलाई पनि त बाँच्ने रहर त छ नि !
तपाईंलाई हाम्रा बच्चाहरूको श्राप लाग्ने छ !
पृथ्वीमा सबै जीवको जिजीविषा
चलेकै त छ
अरुलाई आक्रमण नगरी पनि त पेट भरेकै त छन्
तपाईँ किन आफ्नो आनन्दका लागि
अरुको जीवन लिनुहुन्छ
एक पटक सोच्नुहोस् त महोदय !

भनिन्छ, डरपोकहरू दुला पस्छन्
दुलोमा बस्नुहुन्छ तपाईँ खेदाउनुहुन्छ
दुलोमा बस्छु म भाग्छु
अब भनिदियोस् न कसैले मलाई
हामीमा को बहादुर
तपाईँको आक्रमणको बाबजुद जीवन निर्वाह गर्ने
वा
कसैको जीवनमा निर्भर भएर
जीवन निर्वाह गर्ने बहादुर !

फालेलुङ १, पाँचथर