हरेक साँझ बल्ने दियोमा
मेरी आमा हामी परदेशीएका छोराछोरीहरूको
कुशलताको कामना गर्नु हुन्छ
आमाको मन न हो
पस्ला कि हावाको झोँक्का
निभ्ला कि दियो
यौटा त्राशदि
मेरी आमा दियोमा वर्तन थप्नु हुन्छ
र, संकटमोचनका लागि प्रार्थना गर्नु हुन्छ–
नमस्ते कोण सँस्थाय पिंगलाय नमस्तुते…।
∞ ∞ ∞
अचेल मेरी आमा
डराई डराई समाचार सुन्नु हुन्छ, समाचार हेर्नु हुन्छ
घटना, दुर्घटना, सधैं मृत्युको श्रृखंला
लाशहरूको गन्तीको समाचार
विष्फोटन र यातनाका विभत्स दृश्यहरू
क्रुरताको पराकाष्ठा
चसक्क चस्कन्छ छाती
कतै साँझको दियो त निभेन ?
झसङ्ग झस्कनु हुन्छ
हतार हतार दियोमा वर्तन थप्नु हुन्छ
र, आफूलाई बिर्सिएर हाम्रो जीवनका लागि प्रार्थना गर्नु हुन्छ
संग्रामे सङ्कटे चैव विघ्नस्तस्य नजायते …।
∞ ∞ ∞
राति कतै कुकुर रोयो भने
कतै जंगलमा फ्याउरो करायो भने आमा निद्रामै तर्सनु हुन्छ
राती देखिएको सपनाको अर्थ खोज्नु हुन्छ
कतै अनिष्ट पो हुने हो कि ?
शंका, उपशंका
लामो निश्वास, उद्विग्नता, छटपटी
सम्झे जति देवताको नाम लिनु हुन्छ
आफूलाई बिर्सिएर हाम्रो नाममा
कहिले मन्दिरमा लाख बत्ति बाल्ने वाचा गर्नु हुन्छ
कहिले कोशीमा परेवा उडाउने भाकल गर्नु हुन्छ
हुलाकी घरको संघारमा आयो भने डराउनु हुन्छ
कतै अनिष्ट समाचार पो आउला कि ?
एम्बुलेन्सको साइरन, हेलिकप्टरको आवाज कतै
छोराछोरी संकटमा पो परे कि ?
ढुकढुक मुटु सन्त्रस्त जिन्दगी
गाउँका परदेशीहरू घटेका घट्यै छन्, छाँटिएका छाँटिएकै छन्,
कहिले पूर्व दुख्छ, कहिले पश्चिम दुख्छ
स्वदेश पनि दुख्छ, विदेश पनि दुख्छ
ढुकढुक मुटु, चरक्क चर्कन्छ छाती
निभ्ला कि साँझको दियो
आमा दियोमा वर्तन थप्नु हुन्छ र
हाम्रो निर्विघ्नताको कामना गर्नु हुन्छ
निर्विघ्नं कुरुमे देव सर्व कार्येसु सर्वदा…।
∞ ∞ ∞
बलिरहेको साँझको दियो
जीवन बाँच्नुको प्रतिविम्व
मेरो आयुको सूचक, अस्तित्वको परिचायक
उदासिनताभित्र पनि बाँच्ने यौटा आधार
निराशाको बादल भित्रबाट चिहाउने यौटा सूर्य
भासिँदैछ धरातल र पनि चुलिँदैछ भन्ने भ्रम पाल्नु पर्ने नियति
त्रसित मातृत्व, चिन्तित मेरी आमा
अब विज्ञानमा भर भएन
दियोमा आयु खोज्नु पर्ने विवशता
यो कथा मेरी आमाको मात्र होइन
तपाईँकी आमाको पनि हुन सक्छ
हामी सबैकी आमाको हुन सक्छ
त्यसैले,
अहंकारको यो कुरुक्षेत्रमा मुक्तिको खोजी गर्दै आस्थाको दियो बालौँ
ॐ पृथ्वी शान्ति।!, वनस्पतये शान्ति।।।।, रुकोदय शान्ति।।।!!!, विश्वदेव शान्ति।।।।!!!
ॐ शान्ति।।!, शान्ति।।।!! शान्ति।।।।।!!!
तोपगाछी–३, समयगढ । हाल कमल– २
झापा
(२०६१ सालको भानुमोति पुरस्कार प्राप्त कविता । सशस्त्र द्वन्द्वको समयमा दोलखा जिल्ला अदालतमा कार्यरत रहँदा तत्कालीन परिवेशको चित्रणसहितको कविता)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।