कोही ऋणमा डुबेर आए
कोहि पार्टी दिएर आए
कोही गोठालो छोडेर आए
कोही सपिङ गरेर आए ।

कोही बाआमासँग रुँदै चढे
कोही इष्टमित्रसँग हाँस्दै चढे
कोही तातो आँगन ढोग्दै चढे
कोही रंगिन ध्वजाले सजिदै चढे ।

कोही महँगो ब्याज गनेर उडे
कोही फर्कन नपरोस् भनेर उडे
कोही मर्न नपरोस् भनेर उडे
कोही नक्कली जोडि बनेर उडे

कोही अपांग भएर फर्के
कोही धनाढ्य बनेर फर्के
कोही बाकसमा सुतेर फर्के
कोही दागबत्ती दिएर उतै फर्के ।