तिम्रो विवशताको अनेक – अर्थ लगाउँदा
तिम्रो समर्पणको भाव – बुझ्न नखोज्दा
तिम्रो सुन्दरताको कुनै – वर्णन नगरी
तिम्रो अस्मिताको – भविष्य खोतल्दा

तिम्रो मन भित्र-भित्रै – कति रोयो होला
वितृष्णाको तलतलताले – कम्ता छोयो होला

शिलालेखमा कुँदिएको नाम तिम्रो – जप्न नसक्दा
बाँसुरीको धुनले ती कोकिल वाणी – चिन्न नसक्दा
मृदुभाषीको अभिमन्युले तिम्रो – गुणगान नगरी
तिम्रो परिपूर्णतालाई अङ्कमाल – गर्न नसक्दा

तिम्रो मार्मिक जीवनकथा – कति रोयो होला
वितृष्णाको झङ्कारले – कम्ता पोल्यो होला

चमकताले चिम्सा आँखा – उघार्न नसक्दा
समुद्रले प्रेमको गहिराई – बुझ्न नखोज्दा
आलस्यले तिम्रो सामु – फुर्ती नदेखाई
तिमीभित्र दबिएको – मुस्कान नबुझ्दा

मर्मस्पर्शी त्यो तिम्रो मन – कति रोयो होला
वितृष्णाको अत्याहटले – कम्ता टोक्यो होला

कृतज्ञताको तिम्रो स्वरूप – देख्न नखोज्दा
वैराग्यले तिम्रो विम्ब – निकाल्न नसक्दा
हृदयले आफ्नो परिचय – प्रस्फुटन नगरी
दिलभित्रको ज्वालामुखी – दन्काउन नसक्दा

अजम्बरको तिम्रो मन – कति रोयो होला
वितृष्णाको घँगारुले – कम्ता घोच्यो होला ।

 

मुसिकोट-१, रुकुम (पश्चिम)