
मेरो कन्दरामा आएर
बास बसेको हो घाम
सुरुवात सृष्टिको एकाबिहानै
उसको साङ्ग्रिला धुन
मेरो गुफाहरूमा प्रतिध्वनित भएको हो
ठोकिएर मेरा कानहरूमा
उसरी नै चिच्याएको हुँ
म आदिम आवाज
र प्रसारित भएको हो
एउटा दिव्य चेत
जलचक्रको अतिवाद
क्रान्तिलाई छेडेर
जहाँ पृथ्वीले मनाएकी हुन्
पहिलो स्वतन्त्रता दिवस
अँध्यारोसँग विजयको
उत्सव मनाएर ज्योतिर्मय बनेका हुन्
यी ढुङ्गाहरू
जहाँ बहन्छ मृत्युहरूमा अमृतको बहाब
चिन्तनको ज्वाला मिसाएर
ज्ञानको सागरमा हेलिँदै
भुर्जपत्र माथि गरेको हूँ
लिपिहरूको आविष्कार
स्वयम् सृष्टिको सा-स्वात विधान
ब्राह्मणको कथा
र ब्यास भएर लेखेको हूँ
पहिलो र अन्तिम सत्य
घामको न्यानो स्पर्शमा
प्रेमिल जून मुस्कुराएको हो
यौवन धर्तीको रजमा
यी सेता पर्खालहरूको कूपबाट
स्वयम् विस्तारित भएकी हुन् प्रकृति
र फलेकोहो सञ्जीवनी
जसको बगैंचामा रमाएको म याती हूँ
जसको काखमा खेलेको म पारुहाङ हूँ
म सुम्निमा हूँ
र फराएको हो मेरो शीरमाथि
चन्द्र, सूर्य
हैन भने
हेर दुनियाँ !
सगरमाथाको सन्झ्यालबाट
च्याएर हेर !
अन्तरिक्षको ऐनामा
कोरिएको खगोलको मुहार चित्र
विज्ञानको चमत्कारी तथ्य
जहाँ छ स-प्रमाण
मेरा पुर्खाहरूको हस्ताक्षर
कि, म को हूँ ?
इटहरी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

