मास्टर साब !
घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी बालबालिकालाई
के सिकाउनु भएको छ तपाईंले ?

सिकाउनुस् – जीवनको लय
जसलाई गाउँदै यी बालबालिकाहरू
गर्न सक्नेछन् दु:खका उकाली ओराली

कोरिदिनुस् – शिक्षाको गोरेटो
बाँकी बाटो आफैँ बनाउँदै
जूनकीरीझैं आफ्नै उज्यालोमा
एकदिन यिनीहरू
पुग्नेछन् सफलताको सगरमाथा

कलिला गोडाहरू हिँड्ने क्रममा लड्लान्
आफ्नै बलमा उठ्न सिकाउनुस्
हजार पटक लडेर पनि आफैँ उठेपछि
यिनीहरू उभिनेछन् पहरामा उभिएको रुखझैं

खुकुरी र बन्दुक चलाउन होइन
सिकाउनुस् चट्टानी छाती थाप्न
देशलाई परेको बेला ढाल बनेर
यिनीहरूले नै बचाउनेछन् देश

मास्टर साब, के सिकाउँदै हुनुहुन्छ यिनीहरूलाई ?
लैला मजनुको प्रेमकथा या अमर सहिदको जीवनगाथा ?

सुनाउनुस् सहिदका कथा
सिकाउनुस् नेपाली गाउँका भाका

सुनाउनुस् हिमालको कथा
जो पहाडलाई औधी प्रेम गर्छ
-सुनाउनुस् पहाडको कथा
जसले तराईलाई छातीमा टाँस्छ
-सुनाउनुस् तराईको कथा
जो शिरमा सगरमाथा लिएर दसगजामा उभिन्छ

मास्टर साब
यी कलिला बालकलाई विभाजनको धर्म नसिकाउनुस्
असहिष्णुताको जात व्यवस्था नसिकाउनुस्
राजनीतिको अंकगणित नसिकाउनुस्

घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी
बालबालिकालाई राष्ट्रगान सिकाउनुस्
राष्ट्रिय झन्डाको रङ चिनाउनुस्
स्वाभिमानी नेपाली बनाउनुस्

एकदिन समय आउनेछ-
उनीहरूले नै यो देश बनाउने छन्
यिनीहरूले नै यो देश बचाउने छन् ।

——————————————
(अनेसासद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगिता 2022 म प्रथम भएको कविता)