भ्रममा भुलाउँछन् भगवानलाई पनि
भुँडी भ्रष्ट भएका भिआइपीहरू
सत्यको सुन्दर संरचनाबाट
नक्कली नक्सा बनाएर
निकाल्छन् निश्चल काखबाट
र फाल्दछन् बिरानो सस्तो माटोमा
मौलिकताको महँगो बीउ

भ्रष्टहरूले भयानक भद्रगोलमा
भयावह भूक्षय गराएर
भर्छन् भ्रष्टाचारका भकारीहरू
अनि अन्माउँछन् अलौकिक अँध्यारोमा
लौकिक मनुष्यको यौवनपूर्ण
केवल एकथान जीउ

खुलेका मूलहरूसँगै
फुलेका फूलहरू
टिपेर हाल्छन् टोकरीमा
मिठो बास्ना र रसरङ चुसेर
फाल्छन् सपनाको पोखरीमा
फर्कंदैनन् फूलहरू
पोखरीबाट मूल घरको आँगनमा
किनकि सर्वस्व गुमाएर
बेचिएका थिए फूलहरू

रसाउँछन् मेरा आँखाहरू
खुसीमा छचल्किएर
जब पुग्छन् कठघरामा
कर्मको फलले
कलियुगका कलुसित मनहरूलाई
भविष्यसम्मको भरोसा भाँच्न नदिन
जिन्दगीभर चार दिवारभित्र
आरामसाथ बाँच्न दिउँ ।

 

सिगास – २, बैतडी
हाल: मेलम्ची -४, सिन्धुपाल्चोक