
पिता
▪️छत्रपति दाहाल

छत्रपति दाहाल
शुरुआतको गौरव
व्यवहारमा
सकस
कुम्भीपाक
रौरव
कथित नियमको
यमराज
अनुशासनको
शासन
बाउ!
क्रूर
एक थोपा
आँसु नभएको
अलिकति
दया नभएको
सन्तानको सैतान
झिटीगुन्टाजति
सबै उसको
त्यसैले
लँगुटिया
यार भन्ने गर्छन्
आफ्नो शर नपरुञ्जेल
खुब पाउ मल्नु
अनि
सल्सिला शुरु हुन्छ
दर्शन
स्पर्शन
संवाहन
ढोग
दण्डवत्
कोही यसरी
बाउबाट
पिता हुन्छन्
जब
तायदात
आफ्नो हातमा हुन्छ
तब
पिता फेरि बाउ हुन्छ
कति कच्कच ?
अनि राहु हुन्छ बाउ
छोरो हुन्छ
साहु
किन सोध्थ्यो र ?
बोधो समाज
सोधिहाल्यो भने पनि
जवाफ हाजिर हुन्छ
पालो
अर्थात्
अब पालो सकियो
बाउको
सकसको
बकसको
सबको
मर्लान् कि
र मार्लान् कि
दुई विपरीत सम्वेदनाको
एउटै ध्रुव
एउटै धुरी
एउटै धार
एउटै आधार
पिता!
आमाको
सम्वेदना खोसिँदा
निहुरमुण्टी न हुनुपर्छ
आमाको
सम्वेदना झोसिँदा
पाखुरो
भाग्यो ल हुनुपर्छ
त्यो बेला
दोसाँधमा कुरिरहने
कर्तव्य तुरिरहने
घाउ पुरिरहने
बाउ!
पहिलो संवेदना
आमा हो आमा
त्यसै पनि
दोस्रो
क्रमाङ्कमा परेको हुन्छ
पिता!
गुनासो कसलाई गर्नु र
चुपचाप सहन्छ ऊ
शुक्रको सम्वेदना
मस्तिष्कमा समझदारी
हृदयमा इमान्दारी
काँधमा जिम्मेवारी
वेद
स्मृति
पुराण
प्रेरणा दिन्छन्
कर्तव्यमा
यसरी
काममा
जिम्मेदारीमा
उत्तरदायित्वमा
एक बनाइन्छ
सबभन्दा अघि लगाइन्छ
बाउलाई
बलियो भए पनि
फाइदा
कमजोर भए पनि
फाइदा
स्वार्थी संसारमा
बालुवा पेलेर
तेल निकाल्न खोज्नेको
कतै कमी छैन
यिनै औडाहामा
होमिँदाहोमिदै
दागबत्तीले
झोसिन्छ पिता!
खोसिन्छ सिता!
फलाक्छ वेद!
माता पृथिवी
तत्पिता द्यौः
सन्तान भन्छन्
भएभरको सबै ल्यौ
यही हो
लोकोक्त बाउ!
वेदोक्त पिता!!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
बा !
▪️हरिभक्त सिग्देल “महेश”

हरिभक्त सिग्देल ‘महेश’
बा!
बुबा!
बाबु!
पिता!
आफूलाई
जन्मदिने व्यक्ति
जन्मदाता पिताजी
एउटा
यस्तो व्यक्तित्व
जसले
आफ्नो
पूर्ण जीवन
सन्तान जन्माउन
र उनीहरूको
सुख
सुस्वाथ्य
सम्वृद्धिका लागि
दुःखकष्ट
भोकतीर्खा
सहजै सहन्छ
अनि दङ्ग पर्छ
उनीहरूको
सफलता
बहादुरी
सदाचार
नाम
र उपकारी
उन्नति उन्मुख
कर्ममा
प्रशन्न
खुसी
आफ्नो
सफलता सम्झने
खाइ नखाई
लाई नलाई
दु:खकष्ट खपेर
सन्तानको विद्या
धन
बुद्धि
विवेक
वृद्धिका लागि लागी रहने
निस्वार्थ व्यक्ति नै
बाबु हो
आफूलाई
जित्दा
पछार्दा पनि
दङ्ग पर्ने
उनीहरूका लागि
निस्पक्ष रूपमा
आफ्नो प्राण
र जीवनसमेत
उत्सर्ग गर्न
पछि नपर्ने
निस्वार्थ व्यक्ति नै
बा!
बुबा!
बाबु ! हुन्
वा पिता !!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
बाबु
▪️गणेश लोहनी
पिठ्युँमा
घरको भारी बोकेर
आफ्नै
श्लेष्माको नदीमा
स्वच्छन्दतापूर्वक
सलल बग्ने
शङ्खे किरो हो
बाबु
अर्थात् पिता !
शिरमाथि
देख्दा डरै लाग्ने
नहान्ने
तर हान्नेलाई जान्ने
एक जोडी
लामा सिङ्ले
शोभायमान भएर
आफ्ना सन्ततिलाई
अनुशासन
र नैतिकको
सिमोल्लङ्घनबाट जोगाउँदै
सुसंस्कृत
सुशिक्षित तुल्याउन
चिप्ले किराको
शिरको सिङ्जस्तै
हानी नगरीकन
समुचित डरको
प्रतिमूर्ति हो
बाबु
अर्थात् पिता !
सन्तानको पीडामा
आफू आँसु लुकाएर
परिजनको
आँसु पुछिदिने
एकान्तमा आँसु पोखेर
उपचारको उपाय खोज्ने
आफू हारिदिएर
सन्तानको जित रोज्ने
हरेक पुस्तासँग
हार खाँदै जित्ने
जितबहादुर हो
बाबु
अर्थात् पिता !
खस्रे भ्यागुताजस्तो
हातले
सन्तानका सुकोमल
अङ्गप्रत्यङ्ग मुसार्दै
सन्तालाई
आफूले
अभाव
र अपमानका घुड्का पिउँदै
बन्दकी राखेका
सुखसमृद्धिका
सारा सपनाहरूको
ब्याजसमेत
असुली गर्ने
दन्त्य कथाका
राजकुमार दिक्पाल ठान्ने
लाटो साथी हो
बाबु
अर्थात् पिता !
सन्तानहरू सक्षम भएर
आफ्नै सुख
सुविधामा मात्र लागे
आफूहरूलाई भुलेको बेला
सबै गोकर्ण
र श्रवणकुमार हुँदैनन् भनेर
मातृपीडामा
मलम लगाउन
हरदम तत्पर
अवतार किसन
र मोटा भाइ न हो
बाबु
अर्थात् पिता !
बाबुका
अनेक रूप होलान्
सबै हिरण्यकशिपु बनेर
पुत्र हत्यारत नहोलान्
बाबु सबै
असती नहोलान्
सन्तानका दुःख
पीडामा
कुन बाबु नरोलान्
सृष्टिको
अनादिकालदेखि
अनन्तसम्म
आफ्ना सपनाका
बलीवेदीमा
सन्तानका
भविष्यनिर्माता
कोही भए
ती केवल
बाबु
अर्थात् हुन् पिता !!
चितवन, हालः काठमाडौँ
~~~~~~~~~~ <•> ~~~~~~~~~~
पिता
▪️गीता बजगाईं अधिकारी
ब्रम्हाण्डको छानो बनेर
चराचरलाई जोगाउने
नीलगगनझैँ
घर
गृहस्तीको छानो बनेर
परिवारलाई धान्ने
सिङ्गो गगनरूपी
छानो हुन्
पिता !
हृदयभित्र लागेका चोटहरू
ती चोट बल्जिएर दिएका
पीडहरू
र पीडाहरू उम्लिँदै बनेको
तातो बाफ
ॲाखाबाट बाहिर बिष्फोट हुन
तम्तयार भए पनि
त्यो बाफबाट निर्मित
अश्रुरूपी सुनामीलाई
परेलाहरूमा
टल्पलाउनसम्म नदिई
भित्रभित्रै
सेलाई दिनसक्ने
सामर्थ्य राख्दै
पितृसत्ताको विशाल
थाम भई
दलिन
र नालहरूलाई
धान्न सदैव
सजग हुनु परेको छ
पिताले
पेट छछल्किए पनि
पिता भोकाउॅनु हुन्न
फाटेको लुगा लाएर पनि
पिता नाङ्गिनु हुन्न
पाटपूर्जालाई जस्तै
सधैँ इन्धन नहाले पनि
पिता कहिल्यै खिया लागेर
भाँचिन हुन्न
बरू पिता त
‘खाए नि
बाघको मुख रातो
नखाए नि
बाघको मुख रातो ‘भन्ने झैँ
जहिल्यै
रातो पिरो पो
हुनु पर्छ त
हो
जे जस्तो
परिस्थितिमा पनि
पिता बाघजस्तै
निडर भई रहनु पर्छ
र रहनु हुन्छ पनि
पिता !
सधै शक्तिशाली
र साहसी हुनु पर्छ
छोरी मान्छेझैँ
कहॅा रुदै हिंड्नु हुन्छ र
पिता !
पिता!
पितृत्व थेग्न
जसरी भए पनि
पिता नै बन्नु पर्छ
त्यसैले
आज कविको
कवित्त्वले
सहजै महसुस गर्न सक्छ
पिता !
पर्वतहरूमा सुमेरु हुन्
सधैँ सर्वौषधी
उत्पादन गरिरहन सक्छन्
सागरमा
प्रशान्त हुन्
विनासुनामी
भीमकाय रूपमा
बगिरहन सक्छन्
ऋतुहरूमा
वसन्त हुन्
जहाँ
जसरी पनि
ढकमक्क फुलिदिन सक्छन्
प्रकाशमा
सूर्य हुन्
समय
परिवेश
र ठाउँअनुसार
प्रकाश छरिरहन सक्छन्
शीतलमा
चन्द्रमा हुन्
दिनको उष्णताले
मातेको
जलेको
बलेको
जगत्
सोही जगत्मा जन्मिएका
आफ्ना सन्तानलाई
अँध्यारो रातमा
टहटह टल्किएर
शीत टल्पलाई
शीतल गराइदिन सक्छन्
त्यसैले
मलाई लाग्छ
पिता ढुङ्गा
र माटो दुवै हुन्
आफू
आफूमै अडिन्छन्
पिता आगो
र पानी हुन्
आफैँमा बाल्ने
र निभाउने
सामर्थ्य राख्छन्
वायु
र आकाश हुन्
आफैँ हुत्तिन्छन्
र रोकिन्छन्
निशङ्कोच भन्नु पर्दा
पिता!
गाना
बजाना
खजाना हुन्
साँच्चै पिता !
पिता नै हुन्
सधैँ स्मरण राखिरहन सकूँ
पाइला चाले पनि
पिता!
हात हल्लाए पनि
पिता!
सास फेरेफेराए पनि
पिता!
सर्वस्व पिता!!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
बिहानी !
▪️राजेन्द्र श्रेष्ठ
दिनको
पहिलो प्रहर
प्रातःकाल
नव दुलहीले
सुस्तरी घुम्टो
उठाउँदा देखिने
सुन्दर मुहारको
उज्यालोजस्तै
सुनसान रातलाई
पश्चिम भगाउँदै
भालेको बाससँगै
चराहरूको चिर्बिरसँगै
पूर्वी आकाशमुनि
कोरिन्छ पहेलो
जुँगाको रेखी
र क्षितिजको घुम्टो भित्रबाट
सुस्तरी सुस्तरी
प्रकाशका छटाहरू
छर्दै खोलेर
निश्छल घाम आएर
र सुरु हुन्छ
आशाको बिहानी
रातको कहानी
मचिन्छन् ढिकीजाँतो
जुर्मुराउछन् सहर
बजार
र गाउँहरू
आ-आफ़्नै ठाऊहरूबाट
र सुरू हुन्छ प्रहर
बिहानीको
छरिन्छन् आशाका
किरणसँगै
बज्छन् चेतनाक घण्टी
स्कूल
मन्दिरहरूमा
समग्र देशमा
राष्ट्रमा
र सुरू हुन्छ
कसरत प्रगतिको
त्यो बिहानीसँगै
झलमल्ल
बिहानी !!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
बुवा
▪️शारदा चौलागाईं चन्द्रा
जीवनको धरोहर
आशाको किरण
ओत लाग्ने छानो
बुवा हजुर बिना
यो जीवन रित्तो
अनि हुँदैछ
बिरानो!
आउला दिन भन्दै
दुःख भुल्न सिकेँ
हजुरकै ममताले
काँडाले हान्नेलाई
फूलले हान्न सिकेँ
आमाको काखजस्तै
बुवाको आशीर्वाद प्यारो
बुवा सबथोक हुनुहुन्थ्यो
रित्तियो मेरो
उज्यालो !
चितामा हजुर
विलीन हुँदै गर्दाको
त्यो ज्योति
मेरो आँखा हुँदै
प्राणमा गाँसिएको छ
बुवा!
हजुर निभ्नु भएको छैन
हजुर अस्ताउनु हुन्न
जीवनको पूर्णचन्द्र बनेर
हरपल हरदम मसँगै
मेरो समीपमा हुनुहुन्छ
मेरो प्रेरणाको
स्रोत!
मेरो जीवनको
मार्गदर्शक!
मेरो बुवा !
मसँग हुनुहुन्छ
भावनात्मक रूपमा ।
काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

