
आकाश एक्लो कहाँ छ र?
आकाश सङ्लो पनि कहाँ छ र?
जहाँ नौ लाख तारा छन्
जहाँ सिङ्गो उज्यालो सूर्य छ
हरेक ध्वनिका शब्द जहाँ छन्
त्यसलाई एक्लो कसरी भन्ने
असंख्य चराहरू आकाश छुन
मुक्त रूपमा उडिरहेका हुन्छन्
आकाशको दौँतरी पानी
जहाँ आकाश गङ्गा बगेकी छ
जहाँ मुसलधारे पानीको मुहान छ
पानीको मुख्य स्रोत आकाश हो
क्षीर समुद्र सुकेर आकाशमा पुग्न सक्छ
आकाश अनन्त छ
आँखामा अटाएको
निराकार छ र शून्यमा झुन्डिएको छ
बलियो ह्यङ्गर बनी
ग्रह, नक्षत्र तारा झुण्ड्याएको छ
त्यति मात्र होइन
देवलोक, स्वर्गलोक, साकेत, बैकुण्ठ
त्यतै छन्
माथि आकाशमा रहने देवता
अवतरण हुन्छन्
आकाशवाणीमार्फत सन्देश दिन्छन्
शब्द छ आकाशसँग
वाणी छ आकाशसँग
कलात्मक स्वरुप छ
दिनमा गहिरो नीलो
रातमा कालो
सोल कला कि चन्द्रमा
जो जेसुकै भनुन्
आकाश
खगोलीय पिण्डको वाह्य भाग हो
अन्तरिक्ष हो
जुन पिण्डको सतहबाट देखिन्छ
बादलको पहाड बनिरहेको हुन्छ
रङ्गीन आकाश देखिन्छ
आलो बादल त्यसैमा बिजुली चम्केको
यस्तै दृष्यमा विभिन्न आकृति देखिन्छन्
केही बिम्ब देखिन्छ
केही प्रतिबिम्ब झल्किन्छ
हेर्नेले आफ्नो पन देख्छन्
आफैँ पाउँछन्
पुर्वज देख्छन्
पितृ पाउँछन्
भगवान देख्छन्
देव दानवको भयंकर युद्ध हुन्छ
ब्रह्माण्डमा ब्रह्माश्र चल्छ
बज्रपात हुन्छ
आकाश युद्धको प्रत्यक्ष प्रभाव
पृथ्वीमाथि पर्दछ
हेर्ने आफ्नै किसिम देख्छन्
लेख्नेले आफ्नो किसिमले लेख्छन्
केही पृथ्वीमाथि आलेख लेखिन्छ
केही आकाश माथि
कैलाशकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

