
हो
रहरहरूको
जन्मने यकिन साइत हुँदैन
बाँच्ने यकिन आयु हुँदैन
मनको
घाम पानीमा
उकाली ओरालीमा
दुर्भेद्य कुनाकाप्चामा
सजिलै उम्रन सक्छ रहरहरू
जसरी पनि
जन्मन सक्छ रहरहरू
उसको आगमन
यति चुपचाप हुन्छ
न देखिन्छ कुनै हर्षबढाईं
उसको प्रस्थान
यति शान्त हुन्छ
न देखिन्छ कुनै अश्रु -बिदाई
मात्र हामीले
बुझ्न सक्नु पर्छ
रहरहरू
मनका लागि
जाँगर समाउन आउँछ्न्
बैशाखी टेकाउन आउँछन्
आरोहण चढाउन आउँछन्
क्षणभंगुरता बुझाउन आँउछन्
मात्र हामीले
स्वभाविक मान्न सक्नु पर्छ
रहरहरूको निरन्तर मृत्यु
यसलाई अनावश्यक बचाउने क्रममा
कुनै रामायण वा महाभारत
फेरि पनि जन्मन सक्छ
इतिहास बनिसकेका
बिश्वका त्रासद युद्धहरू
समयलाई पछाडि धकेल्दै
फेरि पनि ब्युँतन सक्छ
माहुरीले झैं
रहरहरूले पनि
खुशीसँग समागम गर्दा गर्दै
आफ्नो लीला त्याग्न सक्छ
बकुला झैं खोला किनारमा
उभिएको रहर
कुनै पनि बेला
पानीमा डुब्न सक्छ
चमकदार
रंगीन रङमा हुर्किएको रहर
कुनै पनि बेला पुतलीझैं
आगोमा डढ्न सक्छ
र यही नै ध्रुव सत्य हो
हामीले बुझ्न सकेनौं भने
देवदूत बनेर पसेको रहर
यमदूत बनेर फर्कन सक्छ
हो रहरहरूको
जन्मने यकिन साइत हुँदैन
बाँच्ने यकिन आयु हुँदैन
फेरि पनि लाग्छ जीवन
यही रहरहरूको क्रमागत जोडाइ हो
भूमरी झैं
रहर- घट्टमा पिसिंदा पिसिंदै
आफैँ खरानी नबनेसम्मका लागि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

