खै के लेखु ! के सुनाऊँ !
लेख्दालेख्दै कलमले दुःख लेख्छ
अक्षरले सुख खोज्छ

पानाहरू दुःख र सुखका रङ्गीन मसीहरूले द्विविधामा नाच्न थाल्छन्

यस्तै त रहेछ जिन्दगी
दुःखको शंख सुन्दासुन्दा थाकेको यो शरीरले
सुखको पन्चेबाजाको पर्खाइमा कुर्दाकुर्दै
के थाहा, यो जिन्दगीले पो पूर्णविराम खोज्ला कि !

यस्तै त रहेछ जिन्दगी
विरानो खण्डहरमा जिउँदो सपनाको लहरहरू बुनेकी छु
बाका चिरिएका ती पैतालाका डोबहरू अनि हातका फोराहरूमा जिम्मेवारीको
थोरै भए पनि मलम लगाउने प्रयास गरेकी छु
मनभरिको पीर अनि मुटुको आँसुलाई हरेक रातको गास बनाएकी छु
नसोध मलाई, जिन्दगी कस्तो चल्दै छ परदेशमा?
हरेक रात अभावको धारलाई खाट बनाएकी छु
संघर्षलाई सिरानी बनाएकी छु

बस् !
अब त एउटै सपना बोकेकी छु
पसिनाले प्यास

पीडाले भोक मेटाएको यो शरीरलाई
आफ्नै देशको कुवाको पानी अनि कोदो
फापरको रोटी खुवाउने छु
नसोधन मलाई “सपना के बोकेकी छौ?”
बस् !
अब त आमाको काखमा पुग्दा दुई मुठी सास बाँकी राख्ने
आश बोकेकी छु।

देवचुली -१०, नवलपुर