मझौला कद, कसिलो शरीर
किफायती मुस्कान र योजनाबद्ध व्यस्तता
कम उमेरमै पाकेको मान्छे
अपेक्षा हार्दा पनि विश्वास नहार्ने मान्छे
आफ्नै बगाल थाक्ता पनि एक्लै नथाक्ने मान्छे
बत्तीस वर्षअघि छुट्टिएको म
छुट्टिएकै बेलाको जस्तो होला भनेको
आज हेर्दा म जस्तै भएछ
आफैँले आफैँलाई बुढो कसरी भनौं
रहर र जाँगर, उत्साह र विश्वास जवानै राखेर
प्रेम ओझा आफू मात्र बुढो भएछ

फलाम भए किचिन्थ्यो होला सायद
शासनले किच्दा पनि नकिचिएर सग्लै उठको मान्छे
कानुनले मिच्दा पनि नमिचिएर एक्ले उठेको मान्छे
शहर पसेर ठूलो हुने सुरिलो सपना छाडेर
मोफसलमा छहारी दिने बर पिपलजस्तै बनेको मान्छे
आफ्नौ आँगन विरानो पारेर अरुका लागि उत्साहको खोरिया फाँडिरहेछ
अपजस जति आफूले निलेर घुटुक्क घाँटीमा दैनिक प्रज्ञा र चेतना बाँडिरहेछ
रित्तो गोजी र भरिएको टाउको बोकेर
समाज फेर्न लागि परेको मेरो मित्रले
आफ्नो लगनलाई तन्नेरी राखेर
मेरै जस्तो दारी कपाल फुलाएछ
आफूले आफैँलाई बुढो कसरी भनौं
प्रेम ओझा अचेल बुढो भएछ

गाली गर्नेलाई पनि माया गर्न सक्ने थोरैमा एक हो ऊ
अप्ठ्यारोमा पनि सम्भावना देख्ने अनौठो स्वप्नदर्शी हो ऊ
अरुको चिन्ता गर्दागर्दै
देशको चिन्तन गर्दागर्दै
आफ्नै चिन्ता गर्न नभ्याउने एउटा व्यस्त मान्छे
हावाको झोकाले कहिल्यै लरखराएन
सत्य ओझेल परेको बेला पनि कहिल्यै हरेस खाएन
होला
एक्लो बृहस्पति जस्तै भयो होला कहिले
स्वप्निल गन्तव्यको पथिक
उत्साह र प्रेरणा बाँडेर कहिल्यै नरित्तिने कुबेर जस्तो लाग्छ मलाई
तीन पुस्ता उत्तराधिकारी बनाएर पनि
मुक्तिको गीत गाइरहेछ
नयाँ पिँढीलाई निरन्तर ऊर्जा भर्दै आफ्ना सपनालाई जवान राखेर
अनुहारमा मेरै जस्तो चाउरिएका धर्सा बोकेर
नयाँ पिँढीलाई निरन्तर ऊर्जा भर्दै आफ्ना सपनालाई जवान राखेर
आफैँलाई बुढो कसरी भनौं
मेरो साथी प्रेम ओझा बुढो भएछ ।