अन्यथा नमान्नु होला
रमण घिमिरे
रहरले होस् कि
बाध्यताले होस्
अथवा ठूलो कुनै महत्त्वाकाङ्क्षाले होस्
आखिर पुगी त सक्यौ हान्निएर
अस्ट्रेलिया, अमेरिका
अनि फेरि किन गुनासो देश बनेन भनेर ?
देश बने पनि
देश बिग्रे पनि
तिमी निमित्त हुँदै होइन
तिमी त रमिते मात्र हौ
तिमीले पातालमा
हनुमानचालीसा पढेर
यहाँ देश बन्दैन
देश त हामी बनाउँछौँ
बिगारे पनि हामी नै बिगार्छौं
किनभने
देश खन्ने कोदालो
देश चिल्याउने खुर्पा
अथवा
देश उमार्ने बिउ त
हाम्रो हातमा छ
त्यसैले तिमी
देशको यति सारो चिन्ता नगर
चिन्ता पनि हामी गर्छौं
चिन्तन पनि हामी गर्छौं
त्यहाँबाट तिमीले
गोहीको आँसु झार्दा
यहाँ देश डुब्दैन
हो,
यो तिम्रो पनि देश हो
तर तिम्रा एकालापले
यस देशको चोला फेरिँदैन
आफ्नो सुख-सयल खोज्दै परदेशिनेले
देशको दु:ख किन रुनु ?
तिमी उतैका भइसकेका छौ आफ्नै रहरले
उतैको ज्यालादारी गर्छौ
उतैको मानो खान्छौ
उतैको ‘गीता’ गाएर आनन्दित हुन्छौ
यहाँको चिन्ता
हामीलाई छोडिदेऊ
बनाउन सके बनाऊँला देशलाई
सकेनौँ भने पनि
देश सप्रेन भनेर
भुइँचालो आउँदाजस्तो
भागेर पलायन हुँदैनौँ
यहीँ किलो गाडेर बस्छौँ
मेरो भावनालाई
जति नै लान्छना लगाएर
फलाक, सराप, धारेहात लगाऊ
र
भन- देश मेरो पनि हो
तर तिमीलाई नै थाहा छ
दुइटा नाउमा खुट्टा राख्नुको
परिणाम के हुन्छ !
अन्यथा नमान्नुहोला
(प्रतिउत्तर कविता)
दीपक मुडभरी ‘मित्र’
प्रिय कवि !
मलाई अलिकति सकस भयो
परदेशमै बसेर
देशको चिन्तन गरिरहॅंदा
समाचारमा नानाथरी सुनिरहॅंदा
देशको बारेमा
मैले बोल्न हुँदैन रे
मैले लेख्न पनि हुँदैन रे
देशको चिन्ता
देशबासीकै जिम्मा अरे
खै कस्ले लिने हो ?
उनी पनि कवि हुन्
वरिष्ठ
के के लेखिरहन्छन्
देखेको-बुझेको सम्झाई रहन्छन्
प्रगतिको बाटो
उनको बुझाईले देखाई रहन्छन्
महाशय !
हामी पनि त लेख्छौं
जे सुन्छौं त्यही भन्छौं
जे देख्छौं त्यही लेख्छौं
देशको चिन्ताले
हाम्रो पनि मन दुख्छ
रून्छ मन पनि प…र देशमै !
सगरमाथा पग्लिए झैं
देश छोड्नेहरूले
नसकेर नै छोडे
तिमी नै छौ
र बनाउँछौ भनेर छोडे
देश बनेन भनेर रोए
देश किन बनाएनौ भनेर सोधे
प्रिय कवि
भन तिनले के बिराए ?
तिम्रो हात समाते कि ?
तिम्रो पद मागे ?
कविका रवि रमण
देश कहाँ बनेन खोज
सोध ! देश किन बनेन
बनाउन सकेनौ नबनाऊ
किन बनाएनौ भनेर कसैले सोधे
मैले सकिनँ
तिमी छैनौ भनिदेऊ
तर देशको असहजतामा
टलपलिएका आँखाहरूलाई
गोहीका आँशु नझार
नभनिदेऊ प्रिय कवि !
धमिलिएका सोचहरू सकारात्मक बनोस्
किनकि
देशको दुर्दशा देखेर
बहेका हाम्रा आँशु
गोहीका होइनन् प्रिय कवि !
बाध्यताले होस्
वा रहरले
अनि तिलचाम्रे नेताहरूका
वहरको कारणले
विदेशिएका सबै परदेशी
नेपालकै नागरिक हुन्
कुनै दिन त पक्कै
स्वदेश फर्किईनेछन्
आर्यघाटमा
पालो कुर्नलाई
पालो मिलाई दिने जिम्मा
अब प्रिय कवि तिमीलाई
पक्कै सक्छौ होला
बोलेको पुऱ्याउनु पनि
सद्गति दिलाई दिनु
आर्यघाटमा
पालो मिलाइदिनु
बाकसमा आएको बेला
छाक छोड्नु पर्दैन
नुन बार्नु पर्दैन
अन्यथा नमान्नु होला
प्रिय कविज्यू !
देशको जिम्मा
लिन पर्दैन कविले
नेताहरूलाई छोडी दिनु
वा आफैँ नेता बन्नु
अन्यथा
अर्घेलो पोखे पुग्छ
सत्य
बोले हुन्छ
मान मर्दन गर्न
पट्टकै खोजेको हैन
कविले किमार्थ देश हाँक्दैन
शब्द वाण मात्र चलाउने हो
जो,
हामी पनि चलाउॅंछौ
साह्रै सकस भएर
प…र देशबाटै
प्रिय कविज्यू
अन्यथा नमान्नु होला !!
मेरिल्याण्ड, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।