हिजो
अलौकिक तिम्रो रुप
न मैले देखेर चिन्न सकेँ
न चिनेर तिमीलाई बुझ्न सकेँ
तिम्रो उधारो आश्वासनको छायाँमा
मेरो भरोसाको जिन्दगी एक युग बाँची हेरेँ
तिम्रो आदर्शको पाइनले चम्केको
आयातित ठूला-ठूला वादको पछि लागेर
धर्म बिर्सिदिएँ
कर्म भुलिदिएँ
आफ्नाहरूको मुर्ति तोडेर
आयातितहरूको तस्बिर पुज्न थालेँ
तिम्रो चर्को भाषणमा
चर्को घामको पर्वाह गरिनँ
म तिम्रै छायाँ बनेर तिम्रै पछि-पछि लागिरहेँ
जंगलमा बसी
कुना-कन्दरामा कन्दमुल खाँदै
जिन्दगीलाई बचाई राखी
बुर्जुवा शिक्षाको काम छैन भन्यौँ
किताब हाल्ने झोलामा किताबको सट्टा
बम, बारुद, ग्रिनेड के के फुस्रा सपनाहरू भरेर बोकेर हिँडेँ
तिम्रो आश्वासनमा
तिम्रो आदेशमा
तिम्रो भरोसामा
मैले आफ्नो तन्नेरी जोवन
पठ्यारलाग्दो वन, पाखा पहरामा बिताएँ

आज
तिम्रो अलौकिक जिन्दगीको आर्को अध्याय
तिम्रो बठ्याईँ
तिमीले अंकमाल गरेको परिवर्तन
तिमीले बनाउँछु भनेको नयाँ नेपाल
देशको निष्कलंकित स्वाभिमान र स्वाधीनता
गौरवमयी कुमारी इतिहास
भुटानी शरणार्थी शिविर क्याम्पको बाटो हुँदै
रगताम्य भै ढलेर
रगतै-रगतको आलो टाटो बोकी
तेस्रो मुलुकको आधुनिक शहरहरूमा
आधुनिक सपनाको बेर्न सार्दै छन्
तिमी दंग छौ
हिजोको सपथ भुलेर
आफ्नो निजी स्वार्थमा रमेर
कठै कस्तो बहुरुपी तिम्रो रङ-रुप

भोलि
तिमीले निर्माण गरेको विगतको
झूटहरूको पर्फाफास हुँदै
अज्ञात बन्धनमा बाँधिएको वर्तमानले नखोतलेको
तिम्रो एक एक कर्तुतहरूको
भेट हुन नसक्ने भोलिहरूले
समयलाई साक्षी राखेर हिसाब-किताब गर्नेछ
बितेका आत्माहरूको रगतपसिना आँशुले
सिँचेको वन, पाखा, पखेरीमा
फुलेको जंगली बुकी फूल
तिम्रो अत्याचारको अन्त्येष्टिमा
श्रद्धाञ्जली अर्पण गर्न
तयार हुन्छ ।