कुन जनावरको सिको गरेर हो कुन्नी
उहाँ हजुरले पनि
आची खाइबक्सेछ
खाइबक्सेकै हो रहेछ
तर
उकेलेर हो वा पचाएर
पुनः आचीकै रुपमा
उहाँले फिर्ता गरिबक्सेपछि
उहाँ शुध्द र चोखो होइबक्सेको
हामीले घोषणा गरेकै हो

हो, उहाँको खाइबक्सने बानी छ
के के को आची खाइबक्सिन्छ
अरु पनि के के खाइबक्सिन्छ
तर फेरि कसरी हो
फिर्ता गरिबक्सेर
चोखो, शुध्द, विशुध्द भइबक्सिन्छ
अनि हामीले पटक पटक
फूलमालाले उहाँको स्वागत गर्छौँ
जय जयकार गर्छौँ
उहाँमार्फत् हामीले पनि
के के खाएर
उहाँलाई नै जिताएर पठाउँछौँ

यो चक्र चलिरहन्छ
दशकौँ चल्छ
अनि हरेक पटक
देश जल्छ जलिरहन्छ
हामी गाली गर्छौँ
फेरि जिताउछौँ
फेरि स्वागत र जय जयकार गर्छौँ

यस्तै चलिरहन्छ
देश जलिरहन्छ
चक्र घुमिरहन्छ
निरोले बाँसुरी बजाइरहन्छ
जनता बसाइँ सरिरहन्छ
जनता मेहेनत गरिरहन्छ
जनता फेरि पनि मरिरहन्छ ।

घान्द्रुक