आफैँ हुन्छ कि गरिन्छ माया अनि कहाँबाट पलाउँछ
पहिलो आगमन त आखाँबाटै भएको हो तर प्रस्थान कहाँ हुँदैछ
बिम्ब बन्न कत्ति समय लागेन तर प्रतिबिम्ब कहाँ बन्दैछ
अस्त्तित्वमा त केही छैन तर भावनामा बारम्बार आइरहन्छ
कस्तो रहस्यमय बोध हो यो आफूभित्र किन अर्कैलाई भेटिन्छ ।।।

माया हो कि छाँया हो दिनमा सँगसँगै डुलाउँछ
दिमाग पनि कब्जा हुन्छ सायद एकोहोरो बनाउँछ
अँध्यारो हुँदैजाँदा त झन् मनमनै काउकुति लगाउँछ
कहिले सपनीमा आउँछ, कुनै रात अनिदै जगाँउछ
मनभित्रै मूल फुट्ने भएर त होला, नभए घरिघरि आँखा किन रसाउँछ ।।।

मायामा सम्वाद भन्दा किन किन मनोवाद नै उत्तम लाग्छ
बोलिरहनै पर्दैन मौनतामा पनि दुई आत्माको विमर्श हुन्छ
न त सवाल हुन्छ, न त जवाफ तर पनि अन्तरङ्ग छलफल चलाउँछ
समीपमा उमङ्गको आभास त स्पर्शमा तरङ्गको अनुभूति अनमोल हुन्छ
साथै हुँदा सम्पूर्णता भएजस्तो टाढा हुँदा अपूर्णताको महसुस किन गराउँछ ।।।

मन भए थाहै नपाई आफैँ हुन्छ माया, स्वीकृति किन चाहिन्छ
मनदेखि मनसम्मको यात्रा हो माया, मनभित्रै हुर्केर मौलाउँछ
दुई हृदयको सम्भोगमा हुन्छ माया फगत आर्कषणमा कहाँ पाइन्छ
प्राप्ति र समर्पण मात्र होइन माया, उत्सर्गसमेत यसमै पलाउँछ
विछोड र वियोग त भौतिक अवशान न हो, आत्माको प्रतिमूर्ति रहिरन्छ ।।।