
चाकरीचाप्लुसी जमाना छ
दैलो उघार्दा
दर्शनभेटे लामबद्ध छन्
प्रणामी भेँटी चढाउँछन्
चाप्लुसीको संस्कृति निरन्तर छ
अजर अमर
प्रतिस्पर्धा पन्छ्याएर हिँडेको छ
शक्तिशाली हुनु छ
अचाक्ली अभिलाषा परिपूर्ति गर्नु छ
च चा… बाह्रखरी सिक्नु छ
कोसेलीमै डुबाउनु छ
काम भन्दा दाम अजेय छ
पौरख घोप्ट्याउने अकुत दिव्यास्त्र छ
जे सुकै आओस् दृष्टिगोचर उस्तै छ
इतिहास दोहरिएको छ
चम्चाप्रेमी शासक जन्मिएका छन्
अर्थप्रेमी कुर्सीमा ढल्केका छन्
ठाँक्रोले ठडिदै छन्
जो आए नि उस्तै छन्
दर्शनभेटीमा रमाउने
कोसेलीमै कमाउने
लिपनलापनमै फोहरमैलोमा मौलाउने
डकार्दै सदाचारी हुने
लुटेरा, चुस्याहा मौलाउदै छन्
स्वाभिमान डगाएर उक्लिन्छन्
टपुर्टुय्याँको राजमा विवेक शून्य छ
गफ उत्पादन गरी गफै बेच्नु छ
गफैको सुशासन छ
गफैमा समृद्धि भित्र्याउनु छ
ढोके दर्शनाभिलाषी बुद्धिजिवीहरू
बर्सेनि शिखर चढ्छन् उचालिन्छन्
गणेश प्रवृतिको रजाइँ छ
कामी दामी आविष्कारक छन्
र पो खोलेफाँडो खानेहरू
पिजाको ख्वाबमा छन् ।
महालक्ष्मी-०१, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

