ए प्रियजन !
धमिरा सानो होस् कि ठूलो
वा पिउसो नै किन नहोस्
खोक्रो बनाउनु उसको धर्म हो
जर्जर तुल्याउनु उसको कर्म हो
धमिरा दु:खी हुनु भनेको
खोक्रो बनाउन नपाउनु हो-
चनाखो नबने
भेटिन्छन् अहिले
पाइला पाइलामा धमिराहरू
बेचिदिन्छन् हिँड्दा हिँड्दै
आफ्नै आमा पनि
नेपथ्यमा छन् कैयन् धमिराहरू
सल्किन्छन् यिनीहरू क्षणभरमै
आफ्नै देशको स्वाभिमानविरुद्ध
हुन त !
पहिलेका धमिराहरूले
चपाउँथे सुकेका ढोड र घाँसपातहरू
बनाउँथे आफ्नो भोजन
सुकेका काठ र कुकाठहरूलाई
तर अचेलका धमिराहरूले
चपाउँछन् सिङ्गै नागरिकहरू
नक्कली जलप लगाएर
शरणार्थी बनाउँदै
धपाउँछन् देशैबाट
अहिलेका धमिराहरू
देखिन्छन् सुटेटबुटेटहरू
गुड्छन् महङ्गो सवारीमा
बगरेल्ती छन् नीतिगत धमिराहरू
असरल्ल छन् दुईनम्बरी धमिराहरू
व्याप्त छन् रेमिटेन्सका कारखानाहरूमा
लिप्त छन् बथानका बथान
हण्डी र हुण्डीका लहरहरूमा
कहिले चाप्लुसी गर्दै
पुग्छन् जुत्ताहरू टल्काउन
र टल्काउँदा टल्काउँदै
रमाउँछन् ढुकुटी नै खोक्रो पारेर
हिँडिरहेछन् भ्रष्टहरू
चपाइरहेछन् असङ्ख्य फाइलहरू
चुस्ताचुस्तै मकैको ढोडजस्तै
खोक्रो पारिरहेछन् यो देशलाई
र चपाइरहेछन्
मुटु, कलेजो र ढुकढुकीलाई सितन बनाएर
रित्याइरहेछन् यो देशलाई
यिनलाई किचिमिचि बनाउन
ब्युझिनु छ एकश्वर भएर पल प्रतिपल
ती भ्रष्ट धमिराहरूलाई
ती द्रोही धमिराहरूलाई
पासोमा तुरलुङ्ग झुन्ड्याउँदै
उन्नत यात्राको सङ्कल्पमा
बढ्नु छ कसम देशको निम्ति
त्यसैले
ए प्रियजन
भ्रष्टहरूलाई सोत्तर बनाउन
गरौँ एउटा नयाँ युद्धको शङ्खनाद
र हिँडौँ सुन्दर सपनाहरू उठाएर सधैँ ।
(कवि धमला नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ -सम्पादक )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।