म रुखबाट लडेँ
खुट्टा भाँचियो
सबैले देखे
चिच्चाएँ रोएँ
सबैले सोधे- दुख्यो?
माया, साथ, सहयोग र उपचार पाएँ
म छिट्टै निको भए हिँड्न सक्ने भएँ

पल्लो घरकी बहिनी वर्षौंदेखि मन
र मस्तिष्कसँग लडिरहेकी छिन्
भाँच्चिएको मनले
घाइते मस्तिष्कलाई भन्छ
तँ कहिले मर्छेस् ?
नदेखिएको आगोले
उनलाई जलाइसकेको छ
के भयो? सोध्ने कोही छैन

देखिने भन्दा नदेखिने चोट, राप र तापले
धेरै दुख्ने / जल्ने रहेछ मान्छे
अनायासै गल्ने रहेछ मान्छे
यसरी पनि सकिने रहेछ मान्छे ।

लमही, दाङ