मलाई थाहा छैन किन आज अरु दिन भन्दा
चाँडो निद खुल्यो
निदसँगै सुस्तरी आँखाका परेली बाहिर चिहाए
आकाश खुलेको थिएन
टेबुलमा राखेको मोबाइल सरक्क तानेर
फेसबुकको एप्लिकेसन दबाएँ
स्क्रोल्ड हुँदै निरन्तर बगिरहेका औँलाहरू टक्क रोकिए
औँलासँगै आँखाका नानी रोकिए
लेखिएको थियो, सुडौल अक्षरमा
“दुधको मूल्य नपाएपछि कृषकले फाले बीच सडकमा दुध”
चित्रमा थियो
सेती नदीझैँ यत्रतत्र बग्दै गर्दा सुकेर सेतो तन्ना बिछ्याइएको
सुकुलजस्तै
त्यही सडकको एउटा कुनामा बेसहाराजस्ता देखिने
एक वृद्ध बा
सडक भत्किएर खाल्डो परी जम्मा भएको
दुध अँजुलीले उठाउँदै भोक मेटिरहेको हृदय चुँडिने दृश्य
स्पस्ट देखिन्थ्यो एउटा करुण क्रन्दन
बर्खाको भेलझैँ पसिनाको भेलले बडारेको कृषकको
निन्याउरो अनुहारमा
मैले यस्तो समाचार आज मात्रै पढेकी होइन
पढेकी हुँ अक्षर चिन्ने भएदेखि नै
कृषकले तरकारी फालेको
उखु किसान सिंहदरबार धाएको
किसानले मल नपाएको
बर्खामा शिक्षकले विद्यार्थीलाई ढाडमा बोकेर भेलमा तारेको
पुलको अभावमा हजारौँले आफ्ना सुन्दर सपनाहरूलाई तुइनबाट झारेको
जब देख्छु यस्ता हेडलाइन तब मन
बोझिलो हुन्छ
गल्छ आङको मासी
र बल्छ पेटमा आक्रोशको ज्वाला
सकिनँ उमालिएको सलगमझैँ नरम बन्न
सकिन छाति चौडा पारेर सरकारलाई धन्यवाद भन्न
ए !
सत्ताको भत्तामा लिप्त भएर
कुर्सीको लडाइँमा अभ्यस्त मान्छेहरू हो
त्यो कुर्सीको कुनै कुनाबाट जनताको अनुहार देखिन्छ कि नाइँ ?
देख्दैन यदि भने
तिम्रै अगाडिको टेबुलमा हेर, कलमको सुइराले
लेखिएका असरल्ल फिँजिएका पत्रिकाहरूमा
छापिएका हेडलाइन
अक्षर चिन्न सकेनौ भने
म बताइदिन्छु ती वयस्क चित्रका बारेमा
सुन!
ऊ यही देशमा पसिनाको मूल्य नपाएको
गलेर पनि नगलेको जस्तो
दुखेर पनि नदुखेको जस्तो
भोकाएर पनि नभोकाएको जस्तो
हरेक चुनावमा तिम्रो सबैभन्दा महत्त्वपूर्ण मान्छे हो त्यो
राजा बनाएर तिमीलाई सिंहदरबार छिराउने मान्छे हो त्यो
आफ्नै देशमा अनागरिकझैँ बाँच्न विवश यही देशको नागरिक हो यो ।
फिदिम-१२, पाँचथर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।