बाबा, ड्याडी, बाउ नाम हजारमा छन्
मात्र तिमी छैनौं बाँकी सब यो बजारमा छन्
दुःखमा छन्, सुखमा छन्, साथ हरप्रहरमा छन्
एउटा तिमी छैनौ, बाँकी सब यो बजारमा छन्

इच्छा पूरा गर्न मान्छेहरू मन्दिर धाउने गर्छन्
मेरालागि त तिमी आउँछौ अघि,भगवान पछि आउने गर्छन्
मेरो मौनताबाट प्रश्न उठाई त्यसको उत्तर बन्छौ तिमी
गल्ती गर्नुपूर्व नै, हुन्न यसो नगर बाबु भन्छौ तिमी

घर परिवारकै लागि दिनरात नभनी छाला जलाएको
बुझ्दै गएको दियोमा आशाको नया बाती बलाएको
मोबाइल बिग्र्यो भन्दा ऋण गरेर मलाई नयाँ किन्दियौ तिम्ले
तर मैले देखेको छु तिम्ले फोन नचल्दा पावर अन/अफ गर्दै चलाको

मेरा सारा गल्तीहरू हाँसी हाँसी सवार दिन्थौ
म खेलौना माग्थेँ तिमी जोरजाम गरेर बजार दिन्थ्यौ
थाहा छैन कसले यस्तो गणित सिकायो तिमीलाई
म पाँच सय माग्थेँ, रिसाउँथ्यौ तर हजार दिन्थ्यौ

चुनौतीलाई अँगालेको, एकअर्कामा विश्वास सारेको
लथालिङ्ग भत्केको घरलाई आफ्नो संस्कारले बारेको
मानौं दुःख पिउने त उनलाई बानी नै परिसक्यो
तर म बुझ्छु नि,बाबा तिम्ले मुस्कुराउँदै आफ्ना रहरहरू मारेको

मान हौ,तिमी मेरो शान हौ
इज्जत हौ अनि मेरो प्रतिष्ठान हौ
यो भावि लेख्नेले सायद आफू सबै ठाउँमा पुगिदैन भनेर
बाउको रूपमा यो धर्तीमा पठाएको तिमी भगवान् हौ

तिमी पानी हौ भने म प्यासी हुँ
तिमी जीत भए, म स्याबासी हुँ
तिमी राजा हौ मेरो म तिम्रो दासी हुँ
लठ्ठी हैन,बुढेसकालमा तिम्लाई हात दिने साथी हुँ

तिमी भगवान् हौ भने म तिमीलाई चढाइने फल हो
तिमी मेस्सी हौ भने म तिम्रो खुट्टाको बल हो
घर परिवारमा प्यार छ,हरप्रहर खुसीको झंकार छ
तिमी भएरै चम्किराको हुँ,म नत्र जिन्दगी अन्धकार छ

भनेँ नि मेरो शान हो, मान हो, इज्जत हो, प्रतिष्ठान हो
बुबाको रूपमा पाएको तिमी वरदान हो
संघर्ष र सफलताको बाटोमा त्यहाँ मात्र गएर विश्राम गर्ने छु
जहाँ तिमी गौरवका साथ भन्न सक्छौ, यो मेरै सन्तान हो ।