तप्प तप्प पसिना चुहाउँदै
छहारीको आशमा
भौँतारिँदै दिनभरि
यता हिँड्छन्
उता डुल्छन्
दिनै बित्छ
सूर्य अस्ताउँछ
बिर्सन्छन् अघिका रक्तिम किरण
रम्छन् त्यो क्षणिक शितलता
सूर्य बिनाको आकाश
अनि तापबिनाको रात
कति नै चल्न सक्छ र यो?
फेरि मौसम त बदलिनु नै छ
सृष्टिले फन्को मार्नु नै छ
शिशिर यामको यो सिरेटो
खप्नु त पर्ने नै छ
अघिको तप्प तप्प पसिना
चुहाएको सूर्य
त्यसैको न्यानोपन त ताप्नु नै छ
भौँतारिँदै
यता हिँड्छन्
उता डुल्छन्
फेरि दिनै बित्छ
न सृष्टिको फन्को रोकिन्छ
न त यिनी भौँतारिन छोड्छन्
आखिर प्रकृतिकै परम्परा न हो
गर्मीमा छहारी खोज्ने
जाडोमा घाम ताप्ने
समयको यो माग
कहिल्यै फेरिँदैन
रीत यही नै त हो
संसार हाँक्ने ।
(क्यालिफोर्निया, यु एस ए)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला