खै कहाँबाट आउँथ्यो
बौलाहा हावा
उडाई लान्थ्यो घरको छानो
देखाउँदै करङ्गभाटा रुन्थ्यो बूढो घर
सँगैसँगै रुन्थिन् आमा

बतासले सुस्केरा हाल्थ्यो बेस्सरी
बाँसका रुख कटकिन्थे नराम्ररी
घङ्ररङ्ग गर्थे छिमेकीका जस्ताका छाना
चम्कन्थ्यो बिजुली
गर्जन्थ्यो निष्ठुरी आकाश
डरैडरले एउटै डल्लो पर्थ्यौं हामी

वर्षे झरीले चुहिन्थ्यो छानो
भरिन्थे गिल्टीका बाटा
थापिन्थे कचौरा र अम्खोरा
पानीले उस्किन्थ्यो
आमाले लिपेको दलान
मक्किन्थे बलो र खाँबो
उस्तै मेरी आमाको मन

बताससँगै हराएका बा
कहिले फर्कन जानेनन्
परेन डाँडा भाटा खोज्न
न पर्यो चोया काट्न
न खर जम्मा गर्न
न त घर छाउन

चैते हुरीले छाडेपछि साउती मार्न
चुनौती दिँदै आमाले बालाई
आफैँ काट्थिन् डाँडा
आफैँ ओसार्थिन् भाटा
आफैँले कात्थिन् लोकता
र आफैँले छाउँथिन् घर ।