प्रिय महाकवि देवकोटा !
तिम्रो सुन्दर शान्त विशाल नेपालमा
उभिनै नसकी
नानीहरूको खियाउटे अनुहारमा
अलिकति चारो राखिदिन
बृद्ध आमाको
झुत्रो मजेत्रो फेरिदिन
जहानको निम्ति
भुटुन जोहो गर्न
म फेरि जाने भएँ
समुद्रपारि

प्रिय कवि !
तिमीलाई सम्झँदै
कस्ले लेखिदेला खै ? ती प्यारा शब्दहरू दोहोर्याएर
“सुन्दर शान्त विशाल देश”!! भनेर
यो बालुवा खानीको
बादशाहको रासनको देशमा

सायद देवकोटा
तिमी भएको भए
यो देशको सम्झनामा
तिमीले लेखी दिन्थ्यौ
पटक पटक
सुन्दर शान्त विशाल
नेपाल

तर
त्यो अँध्यारो अनुहारले
अँध्यारो आकाशलाई हेर्दै
केही वर्ष यता
ऊ निरन्तर
लेख्दै छ यो देशको कविता
यसरी नै
बादशाहको रासनले पालेको देश ।

कन्याम, इलाम