सरकार ! देशको शान मानका खातिर
राष्ट्रिय भ्रष्टाचार दिवस मनाउनु पर्छ
कसले कति कमायो
प्रदर्शनी, प्रतियोगिता सञ्चालन हुनुपर्छ
जनतालाई अदिन
नेतालाई सुदिन ल्याउनु पर्छ
दुःख-कष्ट जेल-नेलको
पाई पाई चुकाउनु पर्छ
अकुतेलाई पुरस्कार सम्मान
राष्ट्रिय पर्वमा दिनुपर्छ
मन्त्रीसन्त्री मात्रा होइनन्
गाउँ उपभोक्ता समितिलाई पनि समेट्नु पर्छ
फूलमाला, गुच्छा, अबीर, दोसल्लाले बेर्नु पर्छ
खानै नपाएका महायोद्धालाई
आए आँप गए झटारो भनेझैँ
वनपाखा, जरीबुटी, हिमचुचुरा
कुनाकन्दरा, सीमाका जङ्गेपिलर बेच्नुस् भन्नु पर्छ
भृकुटी, अरनिको, गौतमबुद्धका
भेटिएसम्म हाडखोर बेच्नु पर्छ
राजा रजौटाले बेच्न नसकेका
मठ मन्दिरका मूर्ति, गजुर, घण्ट बेच्नु पर्छ
पशुपतिको वरदान बेच्नु पेच्नु पर्छ
जनताले नेताको ऋणस्वरुप क्षतिपूर्ति भर्नु पर्छ
विचराहरूले पढ्न, खान, लाउन पाएनन्
जहिले नि दुलोभित्र पसिरहे
जेलनेल, अपमान सहिरहे
के गरेनन् विचराहरूले
जनआन्दोलन गरे, सशस्त्र संघर्ष गरे
त्याग, तपस्या अनि बलिदान गरे
गौरवपूर्ण इतिहासका अलायकलाई
अब लुट्ने छुट दिनु पर्छ
के दिएनन् नेताहरूले भन्नुस् त ?
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिए
समानुपातिक स्वास्नीपातिक समाजवाद दिए
धर्मनिरपेक्ष सार्वभौमसत्ता सम्पन्न गणतन्त्र दिए
जनताजनार्दनले जस्याँ तस्या सलाम ठोक्नु पर्छ
राजसंस्थाले दुई सय चालीस वर्षमा नकमाएको
धन दौलत कमाउन माखोझैँ चास्नीमा डुब्नु पर्छ
पुर्खाले आर्जेको एकएक भाटा गनेर
बेच्ने लाइसेन्स नेतालाई दिनु पर्छ
नेपाललाई अब
भ्रष्टाचारीको पावन भूमि
मानव तश्करी गर्ने हिमालयन देश
सर्वहारा वर्गको लुटभूमि
नेतामय समृद्ध वैभवशाली बनाउनु पर्छ
जो जससँग सम्बन्ध राख्दछ
बालुवाटार काण्ड, सांसद अपहरण काण्ड, ओम्नी काण्ड
एनसेल काण्ड, पानी टङ्की काण्ड, जनसेना शिविर काण्ड
यति काण्ड, अरुण काण्ड, वाइड बडी काण्ड, सुन काण्ड
सहत्तरी करोड काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड
काण्डै काण्डको रणभूमि बन्न दिनुपर्छ
व्यापार व्यवसाय होइन
प्रत्येक नागरिकले सर्वोत्कृष्ट पेशा राजनीति गर्नुपर्छ
भ्रष्टाचारीलाई पदक, पुरस्कार, सम्मानले सुशोभित गर्नुपर्छ
महाउज्ज्वल राष्ट्रदीप भ्रष्टोमणि, भ्रष्ट उज्ज्वल कीर्तिमय राष्ट्रदीप
भ्रष्टोदय सुकीर्तिमय राष्ट्रदीप, कीर्तिमय राष्ट्रदीप प्रदान गर्नुपर्छ
सुप्रसिद्ध प्रबल जनसेवा श्री, प्रसिद्ध प्रबल जनसेवा श्री भिडाउनु पर्छ
भ्रष्ट शिरोमणि, भ्रष्ट भूषण, भ्रष्ट गोदवा, भ्रष्ट सम्मान दिनैपर्छ
हेरौं अनि रोजगारी खोज्न विदेश को जान्छन्
राजादेखि रङ्कको सपनाले सजिएको माटो
कहिले एसियाली मापदण्डको बनाइयो
कहिले सिङ्गापुर, सोभियत संघ, चीन हुँदै
स्वीटजरल्यान्ड बनाउने कर्णाधार
जन्माउने धर्तीलाई सलाम छ
देशलाई प्रयोगै प्रयोगमा थाङ्नामा सुताउनु पर्छ
दिन दुईगुना रात चौगुना हरिकङ्गाल बनाउनु पर्छ
निलम्बित अविलम्बित नेता देशका भाग्य विधाता हुन्
चिकेन चिल्ली, तन्दुरी कबाब, शराब खाने छुट दिनु पर्छ
जुटेका फुटाउने, फुटेका जुटाउने गरी लुटाउने प्रपञ्च बुन्नु पर्छ
घरघरमा नेता जन्माऔं
भ्रष्टाचारमा आत्मनिर्भर बनाऔं
भ्रष्टाचारको सर्वाङ्गीण विकास गरौं
जनता जनार्दन गरिबीमा धसाउँदै
सरकार ! त्यसैले अब उप्रान्त
वर्षमा एकदिन भ्रष्टाचार दिवस मनाऔं ।
महालक्ष्मी, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।