गाउँमा
आँगनको डिलबाट देखिने सूर्य
र शहरको सूर्यमा भिन्नता देखिन्छ
आँगनीमा पारिलो धाम ताप्दा
ताप्नुको मज्जा नै बेग्लै
हेरुँ हेरुँ जस्तो लोभलाग्दो
संगालेर राख्न पाए लुकाएर
दिलको कुनामा सजाउन
मन भएको
धित मर्ने गर्ने तापिरहने
तर त्यहाँको सूर्य
रापिलो आगोझैँ पोल्लाजस्तै
त्यहाँको पूर्व पनि कता हो
भनिन्छ गाउँको पूर्व गाउँलेलाई
थाहा हुन्छ
शहरको पूर्व नै जानिदैन
शहर सधैँ बिरानो भइरह्यो
असंख्य रहर छन् शहरसँग
आशा भरोसाको केन्द्र पनि हो
तर अवस्था, आवश्यकता, अभाव
चिन्दैन शहर
मानवीय समवेदना बुझ्दैन शहरले
लाखौँको मानिसमा पनि
एक्लो हुन्छ शहर
शहरमा
सुकिलोमुकिलो र मीठोमसिनु हुन्छ
चहलपहल कोलाहल हुन्छ
गाउँको विपन्नतासँग शहरलाई
कुनै चासो नै छैन
शहरको सम्पन्नताले गाउँ अघाउँदैन
जरुवा, नौलाको पानी हातले
थापेर पिउँदा
किनेको पानी शुद्धता हेरी हेरी पिउँदा
आफैँ भिन्नता हुने नै भो
घरैघर भएको शहर एक्लो छ
अग्ला छन्, सग्ला छैनन्
यहाँ बस्ने कसैको होइन
सबैका लागि बिरानो छ शहर
हजारौं गाउँको आशाको केन्द्र त हो
विश्वास तथा भरपर्दो छैन
दिन प्रतिदिन थप बिरानो बन्दैछ
आश गर्ने माथि नै विश्वासघात हुन्छ
आशैआशमा काकाकुल छ
जिन्दावाद सुन्न रुचाउँछ
र्‍याली, होलीको जात्रा रुचाउँछ
मलामीको समवेदना बुझ्दैन
गाउँमा
सुख, शान्ति, अमन चयन
अभाव भित्र पनि आनन्द छ
गाउँ र शहर एकअर्काको
पूरक हुनुपर्थ्यो
तर दुरी बढ्दैछ दिनानुदिन
शहरसँग
शक्ति, सत्ता, स्वार्थ प्राथमिकतामा रहन्छ
निरन्तर बिरानो निरन्तर बिरानो हुँदैछ
बिरानो शहर ।

परशुराम १२, डडेल्धुरा