दाइ बिन्ती छ-
भाउजूलाई माया गर्नुस्
इज्जत गर्नुस्
सारा सुख र खुसी दिनुस्
तर आफ्नै विवेक बन्धकी नदिनुस्
तपाईं सम्पूर्ण भाउजूकै बन्नू
तर टाउकोमै नराख्नुस्

पहिले भाउजूले बा आमा छोड् भनिन्
तपाईले मौन सहमति दिनु भो
घर परिवार चाहिँदैन भनिन्
तपाईंले हो झैं गरी दाजुभाइ छोड्नुभो
खर्च कटौती ठिकै थियो
भाउजूको आदेश- उठौतीमा कुदनुभो

तपाईंहरू रमाएको देख्दा कसलाई पो खुशी नलागोस्
हुने त गर्नुभो नै
नहुने पनि नलजाई गर्नुभो
आज भाउजूकै कारण अप्ठेरोमा पर्नुभो

दाइ, भाउजूलाई सम्झाउनु न
मरिलानु के छ र?
मान्छे मर्छ-कर्म कुकर्म हेरिन्छ
किरिया हुन्छ – नाफा घाटा हुँदैन
हिजोको चमक दमक खै आज?
भोलि झन् के होला?

दाइ आदर्श हो
बा सत्य
आमा ध्रुव सत्य
त्यो भन्दा ठूलो आदर्श र सत्य
भाउजू कसरी मानौं?
सान्दाइ भएर तपाईं बनेको नबिर्सनू

दाइ, भाउजूलाई सम्झाउनु न
दाइ, भाउजूलाई सच्याउनु न
नभए समय आफैं अघि बढ्छ- ढोका फोरेर
दुनियाँ जोरेर!

बा को पनि चल्दैन
ठूल्दाइको के चल्ला र?
आमा नभएपछि!
छविले के सघाउला?
दुनियाँ जागिसक्यो!
उज्यालो नहुँदै
भाउजूलाई सम्झाउनुस्
निशेष हुनुअघि
आफैँ पनि विशेषमा जानुस्
बिन्ती छ ।