युद्ध थाहा थिएन मेरी आमालाई
तर, युद्ध गरिरहिछन् मेरी आमाले
अझै पनि भोकसँग युद्ध गर्नु छ
रोगसँग लड्नु छ
किताबसँग युद्ध गर्नु छ
स्वास्थ्यसँग लड्नु छ
बेरोजगारीसँग युद्ध गर्नु छ
उनले धेरैसँग युद्ध गर्नु छ
अनि आफैँसँग युद्ध गर्नु छ
मेरी आमालाई
वनपाखासँग जुध्नु छ
खेतबारीसँग जोडिनु छ
आफ्नै हात पाखुरा खियाउनु छ
आफ्नै पेटसँग लड्नु छ
आफ्नै माटोसँग पौँठेजोरी गर्नु छ
यसरी धेरै कुरासँग
युद्ध गर्नु बाध्यता छ मेरी आमालाई
त्यसैले, हर्केलाई खाडी पठाएकी छन्
आइतेलाई कालापानी पठाएकी छन्
मंगलेलाई चौकिदार बनाउन पठाएकी छन्
जेठीलाई कमाउन कतै पठाएकी छन्
माहिलीलाई साहुको काखमा राखी दिएकी छन्
कान्छीलाई लाहुर्नी बनाएकी छन्
यसरी
मेरी आमा युद्धमा डुबेकी छन्
युद्धमा हुर्किएकी छन्
जता हेर्छिन् युद्ध मात्र देख्छिन्
त्यसैका लागि मेरी आमाले
युद्ध लडिरहेकी छन्
अझ धेरै युद्ध लड्नु छ मेरी आमाले
यही आफ्नै धर्तीमा
जहाँ युद्ध छ
त्यहाँ मेरी आमाको अनुहार छ
यसरी युद्ध र आमा
पर्यायवाची देखिन्छन्
मेरो आफ्नै देशमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।