मेरो साह्रै आदरणीय साथी छ
म उसलाई असाध्यै आदर गर्छु
तर ऊ धेरै माथि छ
म धेरै तल छु
अचेल भेट्न सक्तिनँ
तर पनि, नभेटे पनि
म आदर गरिरहन्छु
बदलामा
ऊ भने मलाई मज्जैले घृणा गर्छ
ऊ र म पहिले उस्तै थियौँ
मैले खाँदा ऊ पनि खान्थ्यो
उसले खाँदा म पनि खान्थेँ
म भोकै हुँदा ऊ पनि भोकै
ऊ भोकै हुँदा म पनि भोकै
कस्तो आत्मीयता !
उतिबेला हामी
दुईज्यान एक मन थियौँ
अहिले भने फरक छ ऊ र ममा
ऊ मेरो मान्यवर भएको छ
म भने भुइँ मान्छे
बगुन्द्र भुइँमान्छेहरूका भीडमै छु
त्यसैले सँगै कुम जोडाएर बस्ता पनि
अहिले ऊ र म धेरै टाढा हुन्छौँ
पहिले साथी थियौँ
एकअर्कामा साथ थियो
सुख सुखै बाँड्थ्यौँ, दुःख दुःखै बाँड्थ्यौँ
अहिले ऊ मेरो मान्यवर भएको छ
ऊ अग्लो चुचुरो
म उसलाई टाढैबाट देख्छु
नामी छ, मानी छ
म उसलाई जहिल्यै चिन्छु
फरक यत्ति मात्र हो
ऊ मलाई देख्तै देख्तैन
ऊ मलाई चिन्दै चिन्दैन
कहिलेदेखि हो कुन्नी, थाहा छैन चिन्न छाडेको
टेडा आँखाले हेर्छ
तर चिन्दैन
अग्लाइसँगै उसको सङ्गत अन्तै भएको छ
मैले खाने उसलाई रुच्तै रुच्तैन
उसले खाने म पाउँदै पाउँदिन
पहिले उस्तै भएका
हाम्रा जिउडाल अहिले फरक भएका छन्
नितान्त फरक
ऊ भ्रष्टार गर्दै गर्दैन
पहिले हाम्रा श्रीमतीसँगै भारोपर्म गर्थे
घाँस दाउरा गर्थे
अहिले
मेरी श्रीमती आफ्ना चुलामा गोबर लोटाउँछिन्
उसकी श्रीमती देशका ढुकुटीमा
हिरामोतीका डल्ला लोटाउँछिन्
फरक यत्ति मात्रै हो
मैले लाएका लुगा उसलाई घिन लाग्छ
उसले लाएका लुगा लाउँ भने
मलाई तिर्नै नसक्ने रिन लाग्छ
त्यसैले ऊ मेरो आदरणीय भएको छ
उसको बढुवा भयो
र साथीबाट आदरणीय भयो
म भने स्थायी पसिनाबहादुर भैरहेँ
म पसिना तर्तरी बगाउँछु
कहिले भोकै बस्छु र कहिले अघाउँछु
ऊ तिनै पसिना असाध्यै मिठो मान्छ र डम्म भैरहन्छ
फरक यत्ति मात्र हो
ऊ र म सँगै हुँदाझैँ
मेरा हातभरि ठेला छन्
उसका हात कल्कलाउँदा भएर
रूप फेरिएका छन्
हिजोआज
ऊ झुक्किएर पनि ऊ मसँग हात मिलाउँदैन
किनभने उसलाई मेरा हात छुनै घिन लाग्छ
मेरो पूर्वसाथीका कान साह्रै ठूला छन्
हात्तीका भन्दा ठूला
मेरो सानो स्वरले बोलाएको ऊ सुन्दैन
बिग्रिएको रेडियोलेझैँ भाषण गर्छ
जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ
भुक्छ, लुक्छ, ढुक्छ
अनि बादशाहको नयाँ लुगा लगाएर
सर्वाङ् नाङ्गै हुन्छ
ऊ मेरो आदरणीय साथी !
दमक, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।